सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरूले पनि गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले धरपक्कड गरेकोमा आपत्ति जनाएका छन्।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले आइतबार गुठी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिरहेकामाथि प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेकोमा आपत्ति जनाएका हुन्।
सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासा जवाफ दिँदै उनले राजनीतिक सहमति जुटाएरमात्रै सो विधेयक अघि बढाउन पनि सरकारलाई सुझाव दिए।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रहरीले प्रदर्शनकारीहरूमाथि हस्तक्षेप गर्ने काम गरेकोमा निन्दा गरे।
उनले संविधानविपरीत सरकारले सो विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै मान्य नहुने चेतावनी पनि दिए।
समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण आन्दोलनमा उत्रेका प्रदर्शनकारीमाथि हस्तक्षेप गरेकोमा आपत्ति जनाए।
उनले गुठी विधेयक संविधानको मर्म र भावनाविपरीत आएको भन्दै असन्तुष्टि व्यक्त गरे।
अध्यक्ष भट्टराईले सरकारले एकपछि अर्को ढंगले संविधानविपरीतका गतिविधि गरिरहेको आरोप लगाए।