उदयपुरका पत्रकारहरुले समाचार नलेख्ने सर्तमा ल्यापटप नलिएको दाबी गरेका छन्। सोमबार पूर्वप्रेस चौतारी र प्रेस सेन्टर र प्रेस युनियन उदयपुरले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘खबरदारी गर्नुपर्ने पत्रकारलाई नगरपालिकाले प्रभावमा पार्न खोजेको र आचारसंहिता उल्लघंन गर्दै ल्यापटप लिएको होइन।’
विज्ञप्तिमा प्रेस चौतारी उदयपुरका अध्यक्ष गणेश उप्रेती, प्रेस युनियनका अध्यक्ष पर्शुराम थापा र प्रेस सेन्टर उदयपुरका अध्यक्ष तुलसीप्रसाद कोइरालाद्वारा हस्ताक्षर छ। ‘प्रेस काउन्सिलले बाँड्ने प्रविधिगत सुविधाको बारेमा पत्रकार साथीहरु जानकार छैनन्? त्यस्तो सुविधा उपभोग गर्ने सबै सरकारका ल्यापडग भएका छन् त? लोक कल्याणकारी विज्ञापन प्राप्त गर्नेहरु सबै ल्यापडग हु्न त?’ भन्दै विज्ञप्तिमा ल्यापटप लिएको घटनालाई बचाउ गरिएको छ।
गत वैशाखमा त्रियुगा नगरपालिकाले पत्रकारलाई प्रविधि हस्तान्तरण कार्यक्रममार्फत ल्यापटप वितरण गरेको थियो। त्यो समाचार भने जेठ महिनाको अन्तिम सातामा प्रकासन प्रसारण भएपछि सामाजिक सञ्जालमा विभिन्न टिक्का टिप्पणी भएको थियो।
त्यसैको जवाफ दिँदै सार्वजानिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिताको दफा ५ को उपदफा १३ अनुसार ‘पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पार्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक, प्रतिष्ठान, संघ–संस्था, वा व्यत्तिगतबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार, वा सम्मान, वा पिशेष सुविधा लिनु हुँदैन।’
‘बजेटमै व्यवस्था गरी क्रमागत कार्यक्रम अन्तर्गत व्यवस्थित गरिएका कार्यक्रमहरुलाई यस्तो श्रेणीमा राख्न सकिन्छ? त्यस्तो हो भने पत्रकार महासंघले पाउने अनुदान, सञ्चार संस्थाहरुले सञ्चार उपकरण, कागज लगायतका सामग्री आयात गर्दा पाउने छुट पाउने जति सबै ल्यापडगै हुने भए होइन र?,’ प्रश्न विज्ञप्तिमा गरिएको छ।
हिमाल आरोहण, विदेश भ्रमण, कार्यक्रमहरुमा लिइने चन्दा सहयोग, कार्यक्रममा बाँडिने प्रायोजकका सामग्रीलगायतका चिजबिजलाई के भन्ने? उपहार वा दान वा सम्मान वा समाचार किल गर्ने सर्तमा लिइएको चिज? मोफसलको पीडा नबुझ्ने गरी दुई महिनाअघिको बासी समाचारलाई अहिले उठान गर्नु पछाडिको नियत के? भन्दै विज्ञप्तिमा ल्यापटप प्रकरणलाई छोप्ने प्रयास गरिएको छ।
त्रियुगा नगरपालिकाले २७ जना पत्रकारलाई ‘प्रविधि हस्तान्तरण’ भन्दै ल्यापटप वितरण गरेको थियो। एक कार्यक्रमका बीच मेयर बलदेव चौधरीले पत्रकारलाई ल्यापटप हस्तान्तरण गरेका थिए। एक ल्यापटपको बजार मूल्य ४२ हजार ५ सय रुपैयाँ रहेको छ।
यो पनि हेर्नुहोस्
ल्यापटप लिएका पत्रकार ‘ल्यापडग’ बने भने…