नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ।
बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले राष्ट्रिय जागरण अभियानपछि पार्टीको भावी कार्यक्रम तय गर्न असार तेस्रो साता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ।
बैठकले सरकारले राष्ट्रियसभामा दर्ता गरेको मिडिया काउन्सिल र गुठी विधेयक फिर्ता लिन सदनबाट दबाब दिने निष्कर्ष निकालेको हो।
बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरू, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, राष्ट्रियसभाका सदस्य सुरेन्द्रराज पाण्डे, काठमाडौंमा रहेका केन्द्रीय सदस्यहरू, काठमाडौं, भक्तपुर र ललितपुरका पार्टी सभापति सहभागी थिए।
सरोकारवालासँग छलफल नै नगरी एकपछि अर्को विधेयक ल्याएर सरकारले द्वन्द्व नित्याउन खोजेकोले ती विधेयकहरू फिर्ता लिन पार्टीले आग्रह गरेको बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
विधेयकको विरोध गर्न पाउने संविधानत: हकसमेत लत्याएर सरकारले केही दिनअघि माइतीघर मण्डलामा गुठियारहरूमाथि दमन गरेकोमा पनि कांग्रेसले आपत्ति जनाएको उनले बताए।