प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले बिहीबार संसदमा एउटै प्रश्न राखे -१० लाख विद्यार्थी कहाँ हराए?
प्रतिनिधिसभा बैठकमा पहिले बोलेका गगनले भने, ‘२०६४ सालमा एक कक्षामा १३ लाख ३४ हजार विद्यार्थी भर्ना भएकोमा २०७६ सालमा आइपुग्दा कक्षा १२ को परीक्षा दिने जम्मा २ लाख ९० हजार भएको भन्दै उनले प्रश्न गरे- १० लाख ४४ हजार विद्यार्थी कहाँ हराए?’
सांसद थापाले नेपालको शैक्षिक प्रणालीमा सुधार आउन नसकेको बताउँदै यसको जिम्मेवारी सबै दलले लिनुपर्ने बताए।
उनले भने, ‘यो राष्ट्रिय लज्जाको विषय हो। यसमा पूर्वएमाले, माओवादी सबैले जिम्मा लिनुपर्छ।’
गगन थापापछि रोष्टममा बोल्न आएका नेकपा सांसद योगेश भट्टराईले पनि सोही प्रश्न तेर्साए- झण्डै ११ लाख विद्यार्थी कहाँ गए?
विद्यार्थीले बीचमै विद्यालय छोडेर जाने समस्याप्रति पर्याप्त छलफल नभएको भन्दै उनले भने, ‘सन् २००८ मा कक्षा १ मा भर्ना भएका १३ लाख ३४ हजार विद्यार्थीहरू २०१७ मा एसइई दिँदा ४ लाख ४६ हजार पुगे र २०१९ मा कक्षा १२ को परीक्षा दिनेमा २ लाख ९० हजार छन्। झन्डै ११ लाख विद्यार्थीहरू बेपत्ता छन्। उनीहरू कहाँ छन्?’
विद्यालय बीचमै छोड्नेहरूमा गरिब त्यसमा पनि दलित, जनजाति र मधेसको तल्लो समुदायको विद्यार्थी भएको भन्दै तिनीहरूको अवस्था के छ भन्दै प्रश्न गरे।
झण्डै ११ लाख विद्यार्थीले छोड्नुपरेको भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने उनले बताए।
उनले भने, ‘विश्वविद्यालयले आफ्नो साख गुमाउँदैछ र शैक्षिक क्षेत्रले साख गुमाउँछ भने देश बन्न सक्दैन।’