सांघाई सहयोग संगठन (एससिओ)को सम्मेलन किर्गिजस्तानको राजधानी बिस्केकमा बिहीबारदेखि सुरू भएको छ। उक्त सम्मेलनमा चीन, रूस, भारतलगायत देशका राष्ट्रपति र प्रधानमन्त्री सहभागी छन्।
पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि बैठकमा भाग लिन गएका छन्। इमरानले उक्त बैठकमा कूटनीतिक मर्यादा पालना नगरेको भन्दै अहिले आलोचना भइरहेको छ।
इमरानको दल पाकिस्तान तेहरिक ए इन्साफको ट्वीटरमा राखिएको सम्मेलनको उद्घाटन सत्रको भिडिओमा रूसी राष्ट्रपति भ्लादमिर पुटिन हलभित्र प्रवेश गर्दा अन्य देशका राष्ट्र/सरकार प्रमुख उभिएका देखिन्छन्।
पुटिनभन्दा केहीबेर पहिला कुर्सीमा पुगेमा इमरान सुरूमा कुर्सीमा बस्छन्। सबै उठेको देखेर फेरि उठ्छन्। अनि एकछिन फेरि बसिदिन्छन्।
त्यतिन्जेल अरू सबै सहभागी उठेर पुटिनको स्वागत गरिरहेका हुन्छन्। अरू सबै उठेर पुटिनको स्वागत गरिरहेका बेला इमरानको यो व्यवहार कुटनीतिक मर्यादाविपरित भएको भनेर आलोचना भएको हो।
इमरान कूटनीतिक मर्यादा विवादमा परेको यो पहिलो पटक भने होइन। क्रिकेटरबाट राजनीतिमा आएका इमरान गत वर्ष पाकिस्तानको प्रधानमन्त्री बनेका थिए।
यसअघि गत फेब्रुअरीमा भएको अर्गनाइजेसन अफ इस्लामिक कर्पोरेशनको सम्मेलनका क्रम साउदी अरबका राजासँग पनि इमरानले कूटनीतिक मर्यादा तोडेको भन्दै आलोचना भएको थियो। उक्त सम्मेलनका क्रममा साउदी राजासँग भएको साइड लाइन भेटका क्रममा इमरानले राजाका दोभाषेसँग कुरा गरेका थिए तर उनको सन्देश राजासमक्ष नपुग्दै अघि हिँडेका थिए।