दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डम्मरबहादुर न्यौपानेले मेयर घनश्याम पाण्डेले आफ्नो वडामा परेको गौरवको योजनामा टेन्डर नै नखोलेको आरोप लगाएका छन्।
शनिबार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०७५/०७६ को वडाले पाउनु पर्ने नगर सभाबाट पारित ३५ लाख रुपैयाँ बजेट नपाएको गुनासो गरेका हुन्।
सात लाख बढीको विकासे काम गर्दा उपमहानगरपालिकाले नै टेन्डर आह्वान गर्नुपर्ने भए पनि गौरवको योजनामा राखेको राप्ती राजमार्गदेखि पनालीबोटसम्म सडक कालोपत्रे तथा स्तरोन्नतिको लागि छुट्याइएको बजेटमध्ये ३५ लाख नदिएको वडा अध्यक्ष न्यौपानेले बताए। पटक/पटक कार्यपालिका बैठकमा कुरा उठाउँदा समेत सुनुवाइ नभएपछि आफू बाध्य भएर मिडिया समक्ष आएको पत्रकार सम्मेलनमा न्यौपानेले बताए।
‘मेरो वडाको गौरवको योजना नै गायब पारिएको छ। नगरकै विकट १३ नं.वडालाई झनै पछाडि धकेल्ने षडयन्त्र भएको छ,’ न्यौपानेले भने ‘अविलम्ब सडक स्तरोन्नतिको लागि टेन्डर आह्वान हुनुपर्छ। मलाई र जनतालाई झुक्याउने खेल बन्द हुनुपर्छ।’
राप्ती राजमार्गदेखि पनालीबोट सडकखण्डको स्तरोन्नति हुने आशामा बसेका जनता आर्थिक वर्ष सकिनै लाग्दा समेत तुलसीपुरका मेयरले टेन्डर आह्वान नगर्दा निराश भएको वडा अध्यक्ष न्यौपानले बताए।
उनले मेयरको झुक्याउने तथा गौरवको योजना नै गायब पार्ने कार्यले जनता निराश र आक्रोशित बनेको जानकारी दिए।
सडकको स्तरोन्नतिको काम यही असार मसान्तसम्म सक्नेगरी अविलम्ब टेन्डर आह्वान गर्न मेयर पाण्डेलाई आग्रह गरेका न्यौपानेले अन्यथा त्यसबाट उत्पन्न हुने परिणामको सम्पूर्ण जिम्मेवारी नगरप्रमुख पाण्डेले लिनुपर्ने दाबी गरे।