तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्।
वडा नम्बर १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेले आफ्नो वडामा परेको गौरवको योजनामा टेन्डर नै नखोलेको आरोपबारे उनले खण्डन गरेका हुन्।
उपमहानगरपालिकाले उपभोक्ता समिति गठनका लागि पटक/पटक ताकेता गर्दा पनि वास्ता नगरेर सम्झौता मिति सकेपछि वडावासीका बीचमा भ्रम छर्न न्यौपानेले त्यसो गरेको उनको आरोप छ।
समयमै सम्झौता गरिसक्नुपर्ने भए पनि त्यसो नगरी आफ्नो गल्ती ढाकछोप गर्न कपोलकल्पित आरोप लगाइएको नगर प्रमुख पाण्डेले बताएका छन्।
‘जुन वडाको विकास गरे पनि नगरकै विकास हुने हो। यसमा मैले कुनै राजनीतिक रूपमा हेर्नुपर्ने कुरै छैन,’ पाण्डेले भने।
असारे विकास रोक्न जेठ १५ सम्ममात्रै योजना सम्झौता गर्ने उपमहानगरपालिकाको नीति अनुसार बैठकमा ताकेता गर्दा वडा अध्यक्षले कुनै मतलब नगरेको उनको भनाइ छ।
सम्झौताको समय गुज्रिदासम्म वडाले यसमा कुनै चासो नदिएको मेयरले बताए।
वडाले समयमै प्रक्रिया अगाडि नबढाए पनि अर्को वर्ष काम गर्ने गरी उपभोक्ता समिति गठनका लागि प्रक्रिया अगाडि बढाउने सहमति वडा अध्यक्षसँग भइसकेको अवस्था एकाएक पत्रकार सम्मेलन गरेर आरोप लगाउनु राजनीतिक प्रतिशोध भएको प्रमुख पाण्डेको आरोप छ।
असारे विकासका नाममा भ्रष्टाचार मौलाएको र विकास पनि प्रभावकारी नहुने उनको भनाइ छ।
शनिबार नै पत्रकार सम्मेलन गरि राप्ती राजमार्गदेखि पनालीबोटसम्म सडक कालोपत्रे तथा स्तरोन्नतिको लागि ३५ लाख बजेट छुट्याइएको भए पनि त्यसका लागि टेन्डर खोल्न मेयरले कुनै चासो नदिएको दोषारोपन गरेका थिए ।