पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथू पुनः ट्राफिक सेवामा फर्किएका छन्।
२९ वर्ष ट्राफिक प्रहरी भएर सेवानिवृत्त हाछेथूलाई प्रहरी प्रधान कार्यालयले 'ट्राफिक भोलुन्टियर' पदमा नियुक्त गरेको हो। ट्राफिक महाशाखाको समुदाय ट्राफिक साझेदारी कार्यक्रमअन्तर्गत रहेर उनले जिम्मेवारी निर्वाह गर्नेछन्।
'काठमाडौंको ट्राफिक अवस्था अवलोकन र अध्यनन गरी कहाँ-के गर्न सकिन्छ भनेर सुझाव दिने मेरो जिम्मेवारी हो,' हाछेथूले भने।
उनले ट्राफिक सचेतना कार्यक्रमहरू, स्थलगत अध्ययनका साथै कुन समस्या कसरी कम गर्न सकिन्छ भनेर सुझाउनेछन्। सडक ट्राफिक व्यवस्थापनमा कुन प्रविधिको कस्तो प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि अध्ययन गर्नेछन्।
'आइजी सर्वेन्द्र खनाल ट्राफिक प्रमुख हुँदा गर्नुभएका धेरै राम्रा काम थिए। तीमध्ये केहीलाई मैले निरन्तरता दिनेछु। सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी दिनेदेखि सडकमा आवश्यक पूर्वाधारहरू के-के छन् भन्ने अध्ययन गर्ने मेरो काम हो। पहिले प्रहरी भएर हेर्थें, अब सर्वसाधारणको आँखाले पनि हेर्छु,' उनले भने।
ट्राफिक स्वयंसेवक नियुक्त हाछेथूलाई उपत्यकाका सबै सडकमा काम गर्ने जिम्मेवारी छ।