नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले गुठीलाई कुदृष्टि राख्नेहरुको भलो नहुने बताएका छन्।
कांग्रेस काठमाडौं महानगरले आइतबार गुठी विधेयविरुद्ध गरेको सभामा बोल्दै सिंहले सामाजिक सहिष्णुता विथोल्न सरकारले संस्कृति, परम्पराविरोधी गुठी विधेयक ल्याएको आरोप लगाए।
‘पशुपतिनाथलाई चलाउन खोज्दा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र कुमारीजात्रालाई चलाउन खोज्न बाबुराम भट्टराईको के हालत भयो? प्रधानमन्त्रीजी हेक्का राख्नुस्,’ सिंहले भने।
संविधानको मर्म, भावनाअनुसार विधेयक नआएकोले फिर्ता लिएर सबै सरोकारवालासँग छलफल गर्न उनले आग्रह गरे। उनले सदनमा विधेयकबारे कुरा उठाइरहेको कांग्रेसले आजदेखि सडकबाट पनि आवाज बुलन्द गरेको बताए।
‘सरकार सच्चिएर अघि बढेन भने जनताको मतबाट आएको सरकार जनताले नै हटाउँछन्,’ उनले भने। काठमाडौंबासीलाई सामन्तीको संज्ञा दिएको भन्दै उनले काठमाडौंकै संस्कार र संस्कृतिले नेपाललाई विश्वमा चिनाएको बताए।