नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले संसदमा आाफ्नो दललाई सहभागी गराउन माग गरेका छन्।
युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा भेटेर ढकालले संसदमा आफ्नो दलको प्रतिनिधित्वबारे माग गरेका हुन्।
भेटमा उनले गत निर्वाचनका बेला परिवार दलले तीन बुँदे सहमति गरी वाम गठबन्धनलाई सघाएको प्रधानमन्त्रीलाई स्मरण गराएको उक्त दलले विज्ञप्ति निकालेर जनाएको छ।
गत निर्वाचनमा परिवार दलले नेकपाको तत्कालीन गठबन्धनलाई सघाएबापत् संसदमा उसको दलको प्रतिनिधित्व सुनिश्चित गराउने सहमति भएको परिवार दलले जनाएको छ।
सेतोपाटीसँगको कुराकानीमा ढकालले त्यतिबेलाको सहमति अहिलेसम्म पनि कार्यान्वयन नभएपछि प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराइएको बताए।
उनका अनुसार चुनावको बेला परिवार दलले वाम गठबन्धनलाई सघाउँदै सूर्य चुनाव चिन्ह लिएर लड्ने र त्यसबापत प्रतिनिधि सभामा परिवार दलको प्रतिनिधित्व गराउने सहमति भएको थियो।
‘मैले यही विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु। उहाँले पार्टी सचिवालयमा छलफल गरे जानकारी गराउँछु भन्नुभएको छ,’ ढकालले भने।
यस विषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेर ध्यानाकर्षण गराउने उनले जानकारी दिए।
ढकाल यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए।
२०७२ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा ढकाल शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए।
गत मंसिरमा काठमाडौंमा भएको विवादीत एसिया प्यासिफिक समिट आयोजना गर्ने क्रिश्चियन मिसनरी संस्था युनिफिकेसन चर्चसँग ढकालको सम्बन्ध छ। उनी उक्त संस्था नेपाल च्याप्टरका अध्यक्ष हुन्।