प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गरेको गुठीसम्बन्धी विधेयकबारे छलफल तीव्र पारेका छन्।
आइतबार आठ दिने युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा गल्ती भए सरकारले सच्याउने प्रतिवद्धता व्यक्त गरेका थिए।
सोही अनुसार उनले सोमबार दिउँसो काठमाडौं उपत्यकाका नेकपा सांसद, प्रदेश सभा सदस्य, मेयर, उपमेयर र वडाध्यक्षसँग छलफल गरेका छन्।
दिउँसो तीन बजेपछि उनीहरूसँगको छलफल सुरू भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिएका छन्। छलफलमा नेकपा नेताहरू माधवकुमार नेपाल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र महासचिव बिष्णु पौडेल पनि सहभागी छन्।
सरोकारवालासँगको छलफलपछि प्रधानमन्त्रीले आजै विधेयकबारे निर्णय लिने बताइएको छ। पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्रीमाथि विधेयक फिर्ता लिनुपर्ने चर्को दबाब छ।
गुठी विधेयकबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुअघि काठमाडौं उपत्यकाका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालसँग छलफल गरेका छन्।
नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार भएको छलफलमा सांसदहरूले अहिले सरकारले गुठी विधेयक फिर्ता लिनुको विकल्प नरहेको र प्रधानमन्त्रीसँग पनि त्यही कुरा राख्नु पर्ने बताएका थिए।
जवाफमा नेपालले उपत्यकाका सबै सांसदको कुरा त्यही हो भने आफ्नो पनि सहमति रहने बताए।
बैठकपछि नेकपाका सांसद कृष्णलाल महर्जनले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानुअघि हामीले माधव कमरेडसँग भेट्यौँ, उहाँले हामी सबैको नेतृत्व गर्दै गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्रीसँग आग्रह गर्ने समझदारी भएको छ।’
महर्जनले काठमाडौं बाहिर र काठमाडौंभित्रका गुठीको समस्या फरक भएकाले त्यही अनुसार सम्बोधन गर्नुपर्ने विषयमा पनि छलफल भएको बताए।
‘तर अहिले गुठी विधेयक फिर्ता लिनुको विकल्प छैन, हामी उपत्यकाका सांसदबीच त्यही छलफल भएको छ,’ महर्जनले भने।
जनप्रतिनिधिसँग छलफल गर्नुअघि प्रधानमन्त्रीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललेसँग ब्रिफिङ लिएका थिए।
राष्ट्रिय सभामा दर्ता भएको गुठीसम्बन्धी विधेयकले आफ्नो परम्परा मास्न खोजेको भन्दै उपत्यकाका तीनै जिल्लाका नेवार समुदाय आन्दोलनमा होमिएका छन्।