प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एंव संसदीय दलका नेता शेरबहादुर देउवाको व्यवहारबाट आफू आश्चार्यचकित भएको बताएका छन्।
संसदमा सम्बोधन गर्ने आफ्नो कार्यक्रममा कांग्रेसले अवरोध गरेपछि मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेका प्रधानमन्त्री ओलीले हरेक क्षेत्रमा निहुँ खोज्ने काम भइरहेको बताए।
‘लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा साथ दिएका देउवा आफैं वेल घेर्न जानुभयो, पहिले आफू बोल्न पाउनु पर्छ भनेर,’ प्रधानमन्त्री ओलीले भने,‘ प्रधानमन्त्रीले होइन आफूले बोल्न पाउनुपर्छ भनेर वेल घेराउ गर्न गएको देखेर म आश्चर्यचकित भएँ।
उनले देउवालाई यति संसदीय मर्यादा थाहा हुनु पर्ने उल्लेख गर्दै आजको अवरोध असंसदीय गतिविधि भएको तर्क गरे।
‘संसदमा जे गतिविधि भए ती असंसदीय र अमर्यादित क्रियाकलाप भए। यसबारे देशको ध्यानाकर्षण गराउन खोजेको हुँ,’ प्रधानमन्त्रीले भने।
यसअघि मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो आठ दिने युरोप भ्रमण, गुठी विधेयक, लोक सेवा आयोगको विज्ञापनलगायत विषयमा सम्बोधन गर्ने कार्यक्रम थियो। तर प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीभन्दा पहिला आफ्ना संसदीय दलका नेता देउवालाई बोल्न दिनु पर्ने माग राख्दै अवरोध गरेपछि प्रधानमन्त्रीले बोल्न पाएका थिएनन्।