प्रधानमन्त्री केपी शर्मा ओलीले भाषाको प्रयोगलाई लिएर सञ्चार माध्यमहरूको आलोचना गरेका छन्।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालको विषय निकाल्दै सञ्चार माध्यमको भाषालाई लिएर टिप्पणी गरे।
'हाम्रो समाज एउटा शिष्ट समाज हो। हाम्रो टेलिभिजनले तपाईं भन्न जान्दैन', ओलीले भने, 'तपाईं भन्ने शब्दै हराइसक्यो।’
उनले भाषा र संस्कृतिको कुरा गर्ने सञ्चार माध्यमप्रति खिसिटिउरी गरे। 'नेपाली भाषामा त बाउलाई तपाईं नै भन्ने चलन हुन्छ हौ', ओलीले भने, 'बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबाउलाई पनि तिमी, हजुरआमालाई पनि तिमी, यो त नेपाली भाषा, सभ्यताभित्र पर्दैन।’
उनले कतिलाई आफ्नो कुरा मन नपर्ने भन्दै अगाडि भने,‘सबै समान हो भन्नेमात्र पर्ला। कुनै भाषामा जेण्डर छुट्टिएको हुन्न। कुनै भाषामा आदरार्थी शब्द हुँदैन। भाषाको मर्म हुन्छ। हाम्रो भाषाको आफ्नो मर्म छ।’
उनले सामाजिक सञ्जालको विषयलाई लिएर समेत गुनासो गरे। उनले स्थापित सञ्चार माध्यमले पनि सामाजिक सञ्जाललाई गुरु ठानेको टिप्पणी गरे।
'सामाजिक सञ्जाललाई फलो गर्न लाग्ने हो भने भाषा, शैली, संस्कृति, बोलाइ चलाई हो भने हामी कस्तो समाज सृजना गर्छौँ?’
उनले सार्वजनिक सञ्चार माध्यमबाट बोलिएको कुरा सार्वजनिक हुने उल्लेख गरे।
'नयाँ पिँढी बालबालिकालाई बढी असर गरेको हुन्छ। यस कुरामा अलिक बढी संवेदनशील हुनुपर्छ', ओलीले भने, 'मैले केही आफूलाई विद्धान भन्नेहरूले बोलेको सुनेको छु। बोलेको सुन्दा सरम लाग्छ। सभ्यताका सीमाहरू अचम्म लाग्छ। संस्कृतिको रक्षा गर्ने शब्द बोलेको हुन्छ तर त्यहाँभित्र अमर्यादा, अभ्रदता, साँस्कृतिक मूल्यहरूको अभाव देखिन्छ।’
ओलीले आफूले मात्र यस्तो अवस्थाबाट उत्पन्न हुने परिणाम भोग्न नपर्ने बताए।
'हामी सबै परिवार र समाजमा बाँच्नुपर्छ। मर्यादित समाज। आफ्ना कुरा भनौं ठीक छ। तर तर्कपूर्ण तथ्यपूर्ण र मर्यादित ढंगले भनौं भन्ने मेरो आग्रह हो', प्रधानमन्त्री ओलीले भने।