सरकारले फिर्ता लिने घोषणा गरे पनि राष्ट्रिय सभामा दर्ता भएको गुठीसम्बन्धी विधेयक संसदीय प्रक्रियाअनुसार फिर्ता भएको छैन।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ता लिने बताएकी थिइन्। तर दर्ता भइसकेको उक्त विधेयक राष्ट्रिय सभाबाट फिर्ता भइसकेको छैन।
विधेयक राष्ट्रिय सभाबाट उत्पत्ति भएकाले राष्ट्रिय सभाबाटै फिर्ता लिनुपर्ने राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले सेतोपाटीलाई बताए।
‘सरकारले घोषणा गरेकै भरमा विधेयक फिर्ता हुँदैन। यसका लागि संसदीय प्रक्रिया पुरा गर्नुपर्छ,’ बिडारीले भने,‘राष्ट्रिय सभाको बैठकमा मन्त्रीले फिर्ता लिने प्रस्ताव राख्नुपर्छ। सभाले स्वीकृति दिएपछि मात्रै विधेयक फिर्ता हुन्छ।’
सरकारले विधेयक फिर्ता लिइसकेपछि भने विधेयक खारेज सरह हुने बिडारीले बताए।
चौतर्फीविरोध भएपछि सरकारले मंगलबार गुठी विधेयक फिर्ता लिने निर्णय गरेको थियो। गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा गत जेठ ६ गते दर्ता भएको थियो।