तीव्र जनदबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरे पनि बुधबार माइतीघर मण्डलमा आयोजित पूर्वनिर्धारित विरोध सभामा हजारौं जनता उर्लिएर आए।
२०४६ को जनआन्दोलनमा जस्तै बिहानैदेखि उपत्यकाका टोल-टोलमा मान्छे जम्मा भएर एकीकृत रूपमा माइतीघर मण्डलतिर बढेका थिए। काठमाडौं, पाटन, भक्तपुर, खोकना, हाँडीगाउँ, बनेपासहित उपत्यकाका विभिन्न ठाउँबाट आएका जनताले गुठीका मामिलामा झुक्याउने काम नगर्न सरकारलाई खबरदारी गरेका छन्।
गुठी विधेयकको वर्तमान मस्यौदा नै खारेज गरी सरोकारवालाहरूसँग परामर्श गरेर नयाँ शिराबाट विधेयक लेख्नुपर्ने उनीहरूको माग छ।
आन्दोलनको आगामी स्वरूप र कार्यक्रम तय गर्न काठमाडौं उपत्यकाका विभिन्न गुठियारहरूबीच छलफल चलिरहेको संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले बताएका छन्।
राष्ट्रिय सभामा सरकारले दर्ता गरेको गुठी विधेयकलाई लिएर काठमाडौंका जनता किन यस्तरी आन्दोलित भए त?
यसको कारण बुझ्न हामीले यस सम्बन्धमा प्रकाशित गरेका आठवटा स्टोरी पढ्नुहोला।
पहिलो स्टोरी:
गुठीका जग्गा हडप्न कस्ता प्रावधान घुसाइएका छन् विधेयकमा?
यो स्टोरीमा हामीले सामुदायिक गुठीलाई सोझै राज्यको स्वामित्वमा लैजाने र त्यस मातहत रहेका जग्गा-जमिन भू-माफियालाई पोस्ने गरी यो विधेयक कसरी ल्याइयो भनी चर्चा गरेका छौं।
दोस्रो स्टोरी:
गुठी विधेयकविरूद्ध यस कारण आन्दोलित छ काठमाडौं
यो स्टोरीमा हामीले प्रस्तावित विधेयक हुबहु पारित भएको भए काठमाडौंमा सयौं वर्षदेखि चल्दै आएका जात्रा र चाडपर्व कसरी मासिन्थे र यसले काठमाडौं सभ्यताकै कसरी विनाश हुन्थ्यो भनेर चर्चा गरेका छौं।
तेस्रो स्टोरी:
गुठी नै नरहे कसरी रहलान् काठमाडौंका जात्रापर्व?
यो स्टोरीमा हामीले काठमाडौंको संस्कृति, सम्पदा र जात्रापर्वसँग गुठीको सम्बन्ध केलाएका छौं।
चौथो स्टोरी:
'काठमाडौंका गुठियारको एकता भाँड्न आएको विधेयक'
यो स्टोरीमा हामीले विधेयक जस्ताको तस्तै पारित भए काठमाडौंका मठ–मन्दिरमा हुँदै आएको पूजाआजा र रितिथिति कसरी बिथोलिन्छ भनेर नरदेवी मन्दिरको उदाहरण प्रस्तुत गरेका छौं।
पाँचौं स्टोरी
मोही किसानको हक पनि सम्बोधन गर्दैन गुठी विधेयकले
सरकारले काठमाडौंबाहिर मोही किसानको हकहित संरक्षण गर्न गुठी विधेयक ल्याएको भनेर आफ्नो बचाउ गर्दै आएको थियो। यो स्टोरीमा हामीले सरकारको उक्त दाबी गलत रहेको र यो विधेयकले किसानको पनि हित संरक्षण गर्दैन भनी चर्चा गरेका छौं।
यसबाहेक गुठीको महत्वबारे तीन लेख:
गुठीलाई चलाएर सरकारले आफ्नो विनाश आफैं खोजेजस्तो देखियो- सत्यमोहन जोशी
प्रिय सरकार, नयाँ गर्न सक्दैनौ भैगो, पुरानालाई नछोऊ- किरणकृष्ण श्रेष्ठ
प्रधानमन्त्रीजी, काठमाडौंले माया गर्न जानेको छ, भष्म गर्न पनि जानेको छ- नजिस्क्याउनुस् - गगन थापा