सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा खेलेको भूमिकामाथि प्रश्न उठाएका छन्।
प्रधानमन्त्रीले भन्दा पहिला संसदमा बोल्न पाउनुपर्छ भन्दै कांग्रेस गैरजिम्मेवार ढंगले प्रस्तुत भएको उनले आरोप लगाए। बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद भट्टराईले भने, ‘कांग्रेसजस्तो जिम्मेवार पार्टीले संसदमा भएको घटनाप्रति आत्मआलोचना गर्ला भनेको त भोलिपल्ट झन् रिसाएको विरालोले खाबो चिथोरेजस्तो ढंगले प्रस्तुत हुन थाल्यो।’
उनले संसदको गरिमा कायम राख्नुपर्नेमा जोड दिए। २०४६ सालपछि संसदको गरिमालाई घटाउने काम भएको उनको भनाइ छ। ‘हामी कस्तो संसदीय अभ्यासको वकालत गर्दैछौं ? सभामुखको निर्देशनलाई हामी स्वीकार्दैनौं भने संसदलाई कता लैजाँदैछौं?’ उनले प्रश्न गरे। कांग्रेसप्रति लक्षित गर्दै भट्टराईले संविधान नमाने पनि प्रजातन्त्रवादीको श्रीपेच लगाउन पाइएको आरोप लगाए।