नेपालस्थित चिनियाँ राजदूतावास पनि सामाजिक सञ्जाल ट्वीटरमा आएको छ। राजदूत होउ यान्छीले बिहीबार ट्वीटर एकाउन्ट खोलेकी छन्। @PRCambNepal ह्यान्डलबाट राजदूत यान्छीले समसामयिक विषयमा अपडेट गर्नेछन्।
नेपालस्थित कूटनीतिक नियोगहरूमध्ये अमेरिकी दूतावास सामाजिक सञ्जालमा निकै सक्रिय छ। राजदूत र्यान्डी बेरीले केही समयअघिदेखि सामाजिक सञ्जालमा राजदूतसँग गफगाफ भन्ने कार्यक्रम नै सुरू गरेका छन्। अमेरिकी दूतावासको यस्तो कार्यक्रम कूटनीतिभित्र नपर्ने भन्दै आलोचना भएको थियो।
नेपालमा पूर्वाधार, जलविद्युत, भूकम्पपछिको पुनर्निर्माणलगायत थुप्रै परियोजनामा लगानी गरिरहेको चीनले नेपालमा लोकप्रिय रहेको सामाजिक सञ्जालमा उपस्थिति जनाएको हो।
चीनमा भने फेसबुक ट्वीटरजस्ता सामाजिक सञ्जालहरू प्रतिबन्धित छन्। चीनले वीच्याटलगायत सामाजिक सञ्जाल नेटवर्क बनाएको छ।