भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठीअन्तर्गत रहेका जग्गाको सही व्यवस्थापन जरुरी रहेको बताएकी छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले भनिन् ‘हाम्रो धर्म संस्कृति, परम्परा, जात्रा, मठ, मन्दिरसँग जोडिएका भावनात्मक कुरामा सरकार विचलित छैन, गुठी जग्गाको उचित संरक्षण सम्बद्र्धन र विकास गर्ने तथा आधुनिक प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ मन्त्रालय अघि बढेको छ।’
संस्कृतिसँग जोडिएको विसंगतिलाई अन्त्य गर्नेगरी गुठी विधेयकमा सरकार नयाँ ढंगले अघि बढ्ने उनले बताइन्। विधेयक फिर्ताबारे चासो राखेका सांसदलाई उनले कानुन बुझ्न र सूचना लिन सुझाव दिइन्।
मोहियानी हक स्थापित गर्ने सम्बन्धमा सरकार संवेदनशील रहेको उनले बताइन्। सो सम्बन्धी कानुन निर्माणको लागि प्रक्रिया अघि बढीसकेको उनको भनाई छ। मन्त्री अर्यालले भु उपयोग ऐन मार्फत चक्काबन्दीलाई जनस्तरबाट सुरुवात गर्ने गरि कानुन निर्माणमा सरकार लागेको दावी गरिन्।
भूमिहीन सुकुम्बासी, दलित, मुक्तकमैया, हलिया, हलवा चरवा, कम्लरी लगायत पिछडिएका र सिमान्तकृत वर्गको भूमिमा पहुँच पुर्याउनेगरी मन्त्रालय अघि बढेको मन्त्री अर्यालले बताइन्।
आधुनिक नाप नक्साका प्रविधि अबलम्बन गरी नापजाँच र भू–सुचना उत्पादन र वितरण गर्ने, जग्गा प्रशासनलाई पारदर्शी बनाई कम्युटर प्रणालीबाट सेवा प्रवाह सुनिश्चित गर्नेगरी काम भइरहेको उनको भनाई छ।