उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले सर्लाही घटनाको बिरोध गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उपराष्ट्रपतिका छोरा दीपेशले सर्लाहीमा ‘राजनीतिक व्यक्तिको हत्या भएको’ दाबी गरेका छन्।
बिहीबार प्रहरीको गोली लागी सर्लाहीको लालबन्दीमा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो। सो घटनालगत्तै दीपेशले फेसबुकमा स्टाटस राख्दै ‘राजीनीतिक समस्यालाई राजनीतिक रुपमा समाधान गर सरकार’ भनी बिरोध जनाएका छन्।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका सर्लाही इञ्चार्ज पौडेलको प्रहरीसँगको दोहोरो मुठभेठमा बिहीबार मृत्यु भएको थियो। गस्तीमा रहेको प्रहरीमाथि गोली चलाएपछि जवाफी फायर गर्दा पौडेलको मृत्यु भएको प्रहरीको आधिकारिक धारणा छ।
तर, नेकपा माओवादीको नेतृत्व गरेका नेत्रविक्रम चन्दले शुक्रबार विज्ञप्ति जारी गरी पौडेललाई नियन्त्रणमा लिएर प्रहरीले गैरन्यायिक हत्या गरेको आरोप लगाएका छन्। बिहीबार लालबन्दी–१ को लखन्देवी खोलामा प्रहरीसँगको दोहोरो भिडन्तमा पौडेल मारिएको दाबी प्रहरीको छ।