रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष फर्कबहादुर बुढा ‘उज्वल’ को निधन भएको छ।
६० वर्षीय वडाध्यक्षको शुक्रबार दिउँसो निधन भएको हो।
गत जेठ ३० गते एक्कासी उच्च रक्तचापबाट पीडित बुढालाई उपचारका लागि काठमाडौं माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो। उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि जेठ ३१ गते वडाध्यक्ष बुढालाई रोल्पाबाट अस्पताल पुर्याइएको थियो।
वडाध्यक्षका सहयोगी मौसम रोकाले ७ दिन अस्पतालमा राखेर उपचार गरे पनि अवस्थामा सुधार नआएपछि चिकित्सकले उनलाई घर लैजान सल्लाह एका थिए।
शुक्रबार काठमाडौंदेखि रोल्पातर्फ ल्याउँदै गर्दा अध्यक्ष बुढाको बाटोमै निधन भएको रोकोले सेतोपाटीलाई बताए।
२०७४ साल असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मदवारी दिएका अध्यक्ष बुढाले तत्कालीन नेकपा माओवादी केन्द्रका निकटतम प्रतिद्वन्द्वी ग्रिस पुनलाई पराजित गर्दै विजयी भएका थिए।
बुढा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकटका नेता हुन्।
रोल्पाको थवाङले यसअघिसम्म निर्वाचन बहिष्कार गर्दै आएको थियो। थवाङ तत्कालीन माओवादीको उद्गम थलोको रूपमा चिरपरिचित छ। दस वर्षे ‘जनयुद्ध’का क्रममा स्वर्गीय अध्यक्ष बुढा तत्कालीन जनसेनाका १ नम्बर प्लाटुनका स्वास्थ्यकर्मी पनि थिए।
शनिबारमात्रै वडाध्यक्षको बुढाको शव गृह जिल्ला थवाङमा पुग्ने हुँदा अन्त्येष्टि शनिबार नै गरिन्छ कि आइतबार त्यो भने यकिनका साथ भन्न नसक्ने सहयोगी रोकाले बताए ।