संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइरालाले ‘सांसदहरुले गतल बुझेको’टिप्पणी गरेपछि राज्यव्यवस्था समितिको आइतबारको बैठकमा केहीबेर तनाव भएको छ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा मन्त्री लालबाबु पण्डितले भनेका कुरालाई समितिका सदस्यहरूले गलत बुझेको भन्दै सचिव कोइरालाले स्पष्ट पार्ने कोशिश गरेपछि समिति सदस्य पूर्वगृहमन्त्री जनार्दन शर्माले प्रतिकार गर्दा स्थिति तनावपूर्ण बनेको हो।
समिति सदस्यले गलत बुझे भन्ने अधिकार सचिवलाई नभएको भन्दै शर्माले प्रतिकार गरेपछि सभापति शशि श्रेष्ठले रूलिङ गर्दै ५ नम्बर बुँदाको विश्लेषण रोकी ६ नम्बर बुँदामा प्रवेश गर्न सचिवलाई ध्यानाकर्षण गराइन्।
शर्माले भने, ‘गलत तरीकाले व्याख्या गरेको भनेर भन्नुहुन्छ उहाँले। त्यो भन्ने अधिकार छैन। हामीले लोकसेवाबाट गरौं भन्दाभन्दै रक्त सम्बन्ध भन्ने पनि उहाँ , हामी चुप लाएर बस्या छ। आज फेरि गलत ढंगले व्याख्या गरेका छैनौं। रोक्ने होइन। यो कुरा उहाँले भन्न पाइँदैन।’
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बुँदा नम्बर ५को श्रेणी र तहगत व्यवस्थामाथि मन्त्रीले भनेको भनाइलाई समिति सदस्यले गलत बुझेको भन्दै त्यसबारे थप प्रष्ट पार्ने प्रयास गरेपछि सचिव र समिति सदस्यबीच भनाभन भएको हो।
समितिको बैठकमा ५ नम्बर बुँदामा विवाद भएपछि त्यसलाई छोडेर ६ नम्बर बुँदाको छलफल अगाडि बढाइसकेको बेला सचिवले ५ नम्बर बुँदामा प्रवेश गर्दै समिति सदस्यले मन्त्रीको कुरालाई गलत बुझेको अभिव्यक्ति दिएका थिए।