अफ्रिकी मुलुक इथियोपियाका सेना प्रमुखको हत्या भएको छ। आफ्नै निवासमा सेना प्रमुख साइरे मेकोननलाई शनिबार राति उनका बडीगार्डले गोली हानी हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ती बडीगार्डले अवकाशप्राप्त अर्का जनरललाई पनि मारेका छन्।
उत्तर इथियोपियाको अमहारा क्षेत्रका सुरक्षा प्रमुख ब्रिगेडर जनरल असामिन्यू त्सिगेले सत्ता हत्याउने प्रयास (कू) का क्रममा सेना प्रमुखको हत्या गरेका हुन्। प्रधानमन्त्री अबी अहमदले कू गर्नकै लागि ती जनरलले अमहाराका गभर्नरको हत्या गरेको बताएका छन्।
इथियोपिया सरकारले हत्यामा संलग्नलाई हिरासतमा लिएको उल्लेख गर्दै सबै इथियोपियनलाई एकजुट हुन आग्रह गरेको छ।
पछिल्लो समय तीव्र आर्थिक वृद्धि गरिरहेको इथियोपियामा केही समयदेखि जातीय हिंसा फैलिन थालेको छ।
अफ्रिकाकै दोस्रो बढी १० करोड ५० लाख जनसंख्या भएको इथियोपिया विभिन्न आदिवासीको नाममा ९ वटा क्षेत्रहरू बनाइएको छ। तीमध्ये अमहारा इथियोपियामा दोस्रो बढी जनसंख्या भएको क्षेत्र हो। अमहारा जातिको बाहुल्यता रहेको उक्त क्षेत्रमा गत महिना गुमुज आदिवासीसँग भएको हिंसामा दर्जनौं मानिस मारिएका थिए।
यसअघि पनि कू प्रयासको आरोपमा जेल परेका जनरल त्सिगे गत वर्ष आममाफी पाएर कैदमुक्त भएका थिए।
एक साताअघि त्सिगेले अमहाराहरूलाई अरू जातिविरूद्ध लड्न तालिम लिन र हतियार बोक्न सुझाव दिएका थिए।
शनिबारका हत्याहरूपछि त्सिगेलाई नियन्त्रणमा लिइएको छ कि छैन भन्नेबारे सरकारले केही खुलाएको छैन।