अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन्।
जापानको ओसाकामा हुने जी- २० राष्ट्रहरूको शिखर सम्मेलनमा सहभागी भएपछि आउने शनिबार राष्ट्रपति ट्रम्प सउल आइपुग्न दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनको कार्यालयले जनाएको छ।
दुई दिने दक्षिण कोरिया भ्रमणका क्रममा ट्रम्प उत्तर र दक्षिण कोरियाको सीमा ‘नो म्यान्स ल्याण्ड’ जाने तयारी भइरहेको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन्।
दुई वर्षअघि भएको आफ्नो भ्रमणका क्रममा पनि ट्रम्प उत्तर कोरियाको सीमासम्म पुग्न खोजेका थिए। तर चर्को विरोधपछि नो म्यान्स ल्याण्डमा जाने उनको कार्यक्रम रोकियो।
दक्षिण कोरियामा राष्ट्रपति ट्रम्पले समकक्षी मुनसँग उत्तर कोरियासँगको वार्ता र दुई पक्षीय सम्बन्धलाई थप मजबुद् बनाउनेबारे छलफल गर्ने जनाइएको छ।
गत फेब्रुअरीमा भियतनामको हनोइमा भएको ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ता असफल भएपछि कोरियाली प्रायद्वीप अनआणविकीकरण गर्ने प्रक्रिया रोकिएको थियो।
तर पछिल्लो समय ट्रम्प र उनको सम्बन्ध सुधार हुँदै गएको छ।
अघिल्लो सातामात्र ट्रम्पले उनलाई चिठी पठाएका छन्। उनले चिठी निकै महत्वपूर्ण भएको बताएका छन्।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ट्रम्पको दक्षिण कोरिया भ्रमणले उत्तर कोरियासँगको वार्ता सुचारू गराउन आधार निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्।