शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उच्च शिक्षामा अराजकता रहेको स्वीकार गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि शिर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले उच्च शिक्षामा अराजकता रहेको बताएका हुन्।
‘उच्च शिक्षामा अराजकता पनि छ। विश्व विद्यालयहरूका विविध प्रकारका समस्या छन्’, उनले भने।
उच्च शिक्षामा देखिएको अराजकता नियन्त्रणका लागि आवश्यक ऐन बनाउने काम भइरहेको उनले जानकारी दिए।
विद्यालय शिक्षा र उच्च शिक्षासँग सम्बन्धित ऐन निर्माणको चरणमा मन्त्रालय रहेको उनले स्पष्ट पारे। उनले चिकित्सा शिक्षा क्षेत्र सुधारको सम्बन्धमा भएका पहलबारे जानकारी गराए।
चिकित्सा शिक्षा ऐनको आधारमा आयोग गठन गर्ने क्रममा उपाध्यक्ष छनोटको लागि सर्च कमिटी गठन भएको उनको भनाइ छ।
ऐनले व्यवस्था गरे अनुसारको आयोगलाई पूर्णता दिने र व्यवस्थित गर्ने दिशामा मन्त्रालय अघि बढेको उनले बताए।