राष्ट्रिय समाचार समिति (रासस) ले पूर्वप्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसम्बन्धी समाचार हटाएको छ।
मंगलबार बिहान १६ नम्बरमा प्रकाशित उक्त समाचार राससको साइटमा अहिले छैन।
‘सडक बनाउन माग गर्दै साँखुवासीले नेताको बाटो छेके’ शीर्षकको उक्त समाचार साँखुबाट रासस संवाददाता आदित्य दाहालले लेखेका थिए।
शंखरापुर नगरपालिकाले सोमबार गरेको नगरसभामा पुगेका नेपाललाई सडक निर्माणमा चासो नदिएको भन्दै साँखुवासीले बाटो छेकेको समाचारमा उल्लेख थियो।
साँखुमा के भएको थियो हेर्नुहोस् भिडिओ
कच्ची सडक हुँदा घाम चर्कंदा धुलो उड्ने र पानी परेपछि हिलो हुँदा आवागमनमा समस्या भएको भन्दै स्थानीय बासिन्दाले सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत रहेका नेता नेपालको ध्याकर्षण गराएका थिए।
राससले समाचार हटाएकोबारे अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’लाई सोध्दा उनले हिजोको समाचार राखिएकोले हटाइएको जानकारी दिए।
‘प्रायगरी राससमा हिजोको समाचार जाँदैन त्यो समाचार गएको रहेछ। दिउँसो सम्पादकले हटाउनुभएको रहेछ,’ उनले सेतोपाटीसँग भने, ‘राससको नियमअनुसार आजको समाचार आजै दिनुपर्छ। फिचर स्टोरीबाहेक अरु हिजोका समाचार जाँदैन।’
उनले नेता नेपालको समाचार भएकोले त्यो हटाइएको भन्ने बुझ्न नहुने दाबी गरे।
‘राससमा कहिलेकाहीँ राजनीतिक रूपमा पूर्वाग्रही भएर पनि संवाददाताले समाचार पठाउँछन्, अस्ती मैले दुइटा हटाइदिएँ,’ उनले भने, ‘पूर्वाग्रही समाचार रहेछ भने हटाउन दबाब आउँछ।’
नेता नेपालको उक्त समाचार हिजोको भएकोले हटाइएको र त्यसमा राजनीतिक दबाब नआएको उनले दाबी गरे।
‘अनलाइनका लागि हिजोका समाचार पनि आजलाई राम्रै हुन्छ तर राससलाई हुँदैन आजको समाचार आजै राखिन्छ,’ उनले भने।
यसअघि निर्वासनमा रहेका दलाई लामा उपचार गरेर अस्पतालबाट फर्किएको समाचार प्रकाशित गर्दा राससका तीन जना पत्रकारलाई लिखित स्पष्टिकरण सोधिएको थियो।