अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने थप तीन जनालाई बयानका लागि बोलाएको छ।
पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वमा सरकारले बनाएको समितिले भूमाफिया किटान गरेका शोभाकान्त ढकाल र राम सुवेदीलाई अख्तियारले बोलाएको हो। बिहीबार गोरखापत्रमा सूचना जारी गर्दै आयोगले हुपेन्द्रमणि केसीलाई पनि बोलाइएको छ।
सरकारले अधिग्रहण गरेर लिएको ललिता निवासको २९९ रोपनी जग्गा मालपोतका कर्मचारीसँगको मिलेमतोमा व्यक्तिको नाममा पुर्याउने मुख्य योजनाकार नै ढकाल र सुवेदी रहेको त्रिताल समितिले प्रतिवेदनमा उल्लेख गरेको थियो।
यही विषयमा उनीहरूमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि छानबिन गरिरहेको छ।
अख्तियारले बुधबार ढकाल र सुवेदीका परिवारसहित अन्य ८६ जनालाई बयानका लागि बोलाएको थियो। अख्तियारले भाटभटेनी सुपर्मार्केटका सञ्चालक मिनबहादुर गुरूङको परिवारलाई पनि बयानका लागि बोलाएको छ।
त्यस्तै ललिता निवासको सरकारी जग्गामा अनाधिकृत मोही बन्नेहरूलाई पनि अख्तियारले बयानका लागि बोलाएको छ।
ढकाल, सुवेदी र गुरूङको परिवारका नाममा अझै पनि २८ रोपनी जग्गा छ।
ढकाल र सुवेदीका श्रीमती उमा ढकाल र माधवी सुवेदीका नाममा रहेको कित्ता नम्बर ३०९ र ३०१५ को आठ आना जग्गा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलका नाममा पास भएको थियो। यो तथ्य बाहिर आएपछि नेकपा महासचिव पौडेल पनि विवादमा मुछिएका थिए।
२०६१ सालमा विष्णु पौडेललाई ८ आना जग्गा ढकालकी पत्नी उमा र सुवेदीकी पत्नी माधवीले हस्तान्तरण गरेका थिए।
ललितानिवासको जग्गा किनबेचमा संलग्न अधिकांशलाई बोलाएपनि अख्तियारले महासचिव पौडेल परिवारलाई भने बोलाएको छैन।