बालक अपहरण तथा हत्या जस्ता आधा दर्जन बढी अपराधमा संलग्न रहि फरार रहेका नसिम खाँ ( जाबेद बादसाह ) पक्राउको सत्तारूढ दल नेकपा-कपिलवस्तुले विरोध गरेको छ ।
प्रहरीले खाँलाई आइतबार पक्राउ गरेको थियो । नेकपा कपिलवस्तुले विज्ञप्ति निकाली खाँ पक्राउको विरोध गरेको हो ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपराका खाँ माथि चार वर्षिय बालकको अपहरण पछि हत्या गै ८ वटा मुद्धा दर्ता छन् ।
ती मध्ये ७ वटा कर्तब्य ज्यान र १ वटा डाँका चोरी मुद्धा रहेका छन् ।
नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र सचिव रामचन्द्र शाहले प्रेस विज्ञप्ति जारी गर्दै नसिमलाई तत्काल रिहाईको व्यवस्था मिलाउन माग गरेका छन् ।
राजनीति सहमतीअनुसार नसिममाथि लगाइएका मुद्धा फिर्ता भएको बखत उनलाई एकाएक प्रहरीले पक्राउ गर्नु दुःखद रहेको विज्ञप्तिमा उल्लेख छ ।
खाँले २०६३ जेठ १९ गते कपिलवस्तुको फुलिका ३ बस्ने धर्मराज बराईको छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग छ ।
त्यस्तै पछिल्लो समय २०७४ फागुन ३ गते ४ वर्षीय मोहम्मद अहेमानलाई अपहरण पश्चात हत्या गरी फरार भएको प्रहरीको दावी छ ।
नेपाल प्रहरीको खोजी सूचीमा रहेका खानलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले काठमाण्डौंको सिनामंगलबाट शनिवार विहान नियन्त्रणमा लिएको थियो ।
गत वर्ष पौष ३ गते कपिलवस्तुको सिमावर्ती क्षेत्र भएको एक कार्यक्रममा कृषि मन्त्री चक्रपाणी खनाल तथा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलसंगै देखिएका उनलाई पक्राउ गर्ने प्रहरीको प्रयास सफल हुन सकेको थिएन।
अपराध गर्ने र शसस्त्र समुहको नाममा वार्ता गर्ने सुबिधालाई समेत उनले राम्रै सदुपयोग गरेका थिए । त्यसलाई सदुपयोग गर्दै तराईका सशस्त्र समूहसँग राज्यले गरेको वार्ताको पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए ।
तर व्यक्तिगत घटना र बालक अपहरण पछिको हत्यालाई राजनीतिक मान्न नसकीने भन्दै अधिकारकर्मीहरुले आलोचना गर्न थालेपछि खांन अर्ध भुमिगत जस्तै थिए । उनी प्रहरीको गिरफ्तारीबाट बच्न भारतीय सिमावर्ती बजारमा बस्ने गरेका थिए ।