नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छायाको रूपमा सीमित हुँदै गएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सरकारको छायाको रूपमा सीमित भएको संसदका सभामुखले पनि स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका हुन्।
प्रतिपक्षी दललाई पेलेर जाने नियत सरकारले राखेको र त्यसैलाई सभामुखले अनुसरण गरेको टिप्पणी उनले गरे।
उनले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताए।
उनले भने, ‘एकपटक फेरि नेपालको संसद नेपालको सरकारको छायाको रूपमा सीमित रहेको छ। सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न सक्नुभएको छैन। संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरूको भरोसा के रहन्छ ? पेलेर जाने रवैया, नियत राख्नुभएको छ। यसले सभामुख दिन प्रतिदिन हाम्रो विश्वास गुमाउँदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ। जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा हाम्रो सहयोग रहँदैन। सरकारे यसको सामना गर्न र सभामुख यो बनाउन तयार हुनुपर्छ।’
मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशनपछि पछि हटेको दाबी सांसद थापाले गरे।
उनले भने, ‘संसदीय छानबिन समिति बनाउने सवालमा सरकार पक्षका सांसदहरूले हामी तयार छैनौं भन्नुभयो। कानुन मन्त्रीले तयार छैन भनेपछि उहाँहरूले जे कुरा भन्नुभो सभामुखले त्यही कुरा मान्नुभयो। कम्तीमा हामी एक जना सांसदले कुरा राख्छौं भन्दा कुरा समेत पनि राख्न नदिने। किनकी सरकारवालाको कुरा आज बोल्न पनि नदिने भनिसकेपछि त्यो चाहिँ आदेश पालना गरेजस्तो भयो। हिजोको बैठकमा मन्त्रीले भन्नुभयो ‘म संसदीय समितिको सामना गर्न तयार छु।’ सभामुखले भन्नुभयो ‘म पोजेटिभ छु । बनाछु ।’ तर त्यसपछाडि उहाँ आज प्रमुख प्रतिपक्षी दल उठ्दै गर्दा संसद चलाउन तयार हुनुहुन्छ। आफैं पोजेटिभ भएको छानबिन समिति बनाउन तयार हुनुहुन्न भनेपछि यो संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैंले संसद चलाइरहेको छ ?’
उनले सर्लाहीका दुई भिन्नभिन्न घटना सामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविष्यमा लोकतन्त्रलाई नै खतरामा पार्न सक्छ भन्ने मानेर आफूहरूले संसदीय छानबिन समिति गठनको माग गरेको स्पष्ट पारे।