प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई हिंसात्मक गतिविधि परित्याग गर्दै शान्तिपूर्ण बाटोमा लाग्न आग्रह गरेको छ।
बुधबार भोजपुरमा प्रहरी जवान र विप्लव नेतृत्वका एक कार्यकर्ताको गोली हानाहानपछि मृत्यु भएको, केही समयअघि सर्लाहीमा प्रहरीको गोलीबाट नेकपाका कुमार पौडेलको मृत्यु र बम विस्फोटपछि काठमाडौंमा जनधनको क्षति भएको भन्दै कांग्रेसले दुवै पक्षलाई हिंसा परित्याग गर्न आग्रह गरेको हो।
सरकारले शान्तिका नाममा र नेकपाले क्रान्तिका नाममा हिंसात्मक गतिविधि सञ्चालन गरेको भन्दै कांग्रेसले दुवै पक्षलाई शान्तिपूर्ण तवरले समाधानको विकल्प खोज्न आग्रह गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
‘सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शान्ति सुरक्षा स्थापनाको सरकारी दायित्वको नाममा तथा विद्रोही नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिको नाममा रगतको होली नखेल्न चेतावनी दिन चाहन्छौं,’ शर्माले विज्ञप्ति निकालेर भनेका छन्।
कांग्रेसले लामो समयपछि प्राप्त उपलब्धिहरूको जगेर्नाका लागि दुवै पक्षलाई गम्भीर हुन आग्रह गरेको छ।
‘विप्लवको हिंसा झै सरकारको निषेधको रणनीति पनि गलत छ। दर्ता नै नरहेको दलमाथि प्रतिबन्धको घोषणाले मुलुकमा समाधान होइन तनाव सृजना गर्न योगदान पुर्यायो,’ शर्माले भनेका छन्।
कांग्रेसले बुधबार भोजपुरमा प्रहरी जवान सञ्जीव राई र विद्रोही नेकपाका नीरकुमार राई मारिएको घटनालाई गम्भीर रूपमा लिएको बताएको छ।
‘शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्य पुन: सामना गर्न किमार्थ तयार छैन,’ कांग्रेसले भनेको छ।
कांग्रेसले विप्लवलाई हिंसा परित्याग गर्न पुन: आग्रह गरेको छ।
‘विप्लवलाई हत्या हिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन पुन: अपिल गर्छौं। प्रचण्ड नेतृत्वको हिंसात्मक विद्रोहले अन्तत: त्यो मार्ग परित्याग गरेर मात्रै समाधानमा योगदान गर्न सकेको तथ्य स्मरण गराउँछौं,’ शर्माले भनेका छन्।
निषेधको नीति त्याग गरेर संवादबाट समाधान पहिल्याउन प्रधानमन्त्रीको शासकीय योग्यता देशले खोजेको पनि कांग्रेसले बताएको छ।
सर्लाही र भोजपुर घटनालाई संसदीय छानबिन समिति बनाएर सत्यतथ्य छानबिन गर्नुपर्ने पनि कांग्रेसको माग छ।