कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विषादी चेकजाँच अहिले पनि जारी नै रहेको स्पष्ट पारेका छन्।
बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले अहिले पनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भैरहेको सुनाए।
नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरूको क्षमतामा प्रश्न रहेको सुनाउँदै ती ल्याबलाई छिट्टै स्तरोन्नति गर्ने पनि उनले विश्वास दिलाए।
साक्षात्कारमा बोल्दै मन्त्री खनालले अहिले पनि जोखिमयुक्त तरकारी तथा फलफूल नगन्य मात्रामा रहेको सुनाए।
उनले भने,‘हामीले २०७१ साल असारदेखि विषादी परीक्षणको काम सुरू गरेका हौं, त्यतिबेला १८७ स्याम्पलमा चेकजाँच गरिएको थियो, तर केहीमा जोखिमपूर्ण मात्रा थियो।’
काठमाडौं उपत्यकाबाहिर अहिले पनि ६–७ वटा ल्याबहरू रहेका मन्त्री खनालले सुनाए।
उनले भने,‘तर, ती सबै ल्याबहरू अहिले सञ्चालनमा छन् भनेर म भन्दिनँ। भएका ल्याबहरू सञ्चालन गर्न जनशक्तिको समस्या छ।’
उनले विषादी चेकजाँच गर्ने निर्णयबाट सरकार किन पछि हट्यो ? भनेर चौतर्फी कुरा उठेको सुनाउँदै निर्णयमा नाकामा चेकजाँच भन्ने शब्द राख्दा समस्या भएको सुनाए।
उनले थपे,‘अन्तर्राष्ट्रिय प्रचलनअनुसार पनि नाकामा चेकजाँच हुँदैन। र, अहिले हामीसँग भएका ल्याबहरूलाई हामी छिट्टै अन्तर्राष्ट्रियस्तरको बनाउँछौं।’
अहिले पनि अर्गानो फोस्फेट र कार्वोनोमेट दुइटा विषादी परीक्षण हुने गरेको मन्त्री खनालले सुनाए।
परीक्षण हुन नसक्नेलाई काठमाडौंमा ल्याउन सकिने उनको भनाइ छ। उनले हरेक कुरामा विषादीमात्रै छ भनेर देख्ने तरिका पनि वैज्ञानिक नभएको गुनासो पोखे। ०७१ सालयताको रेकर्ड हेर्दा ग्रिन–जोनभन्दा तल धेरै कम मात्रामा रहेको उनले डाटा सुनाए।
भारतबाट मात्रै नभएर भुटानबाट आयात हुने आलुलगायतका वस्तु र चीनबाट आयत हुने स्याउ परीक्षण हुने गरेको मन्त्री खनालले जनाए। सर्वोच्च अदालतले हिजोमात्रै विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरूले पालना गर्ने पनि उनले विश्वास दिलाए।
उनले भने,‘अहिले हामीसँग भएका सबै ल्याब र साधन र स्रोत परिचालन गरेर हामी परीक्षणको काम गर्छौं।’
विषादी परीक्षणलगायत अन्य पूर्वाधार निर्माणको लागि चाहिने बजेटको लागि आफूले अर्थ मन्त्रालयसँग छलफल गरेर पत्र पठाइसकेको पनि उनले जनाए।
उनले भने,‘खरिद प्रक्रिया पूरा गर्न अझै कम्तीमा पनि ६ महिना र बढीमा दस महिना लाग्छ।’
मन्त्री खनालले भारतलगायत तेस्रो मुलुकबाट नेपाल आयात गरिने फलफूल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरू गर्न कम्तीमा ६ महिना लाग्ने स्पष्ट पारे।
केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समूहको परीक्षण गर्ने भए पनि बाँकीमा २ वटा प्यारामिटरमात्रै चेक हुँदै आएको उनले स्पष्ट पारे।
चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि आफूले खाद्य, पशु र प्लान क्वारेन्टाइन अन्तर्गतका १४ वटा क्वारेन्टाइन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको स्पष्ट पारे।
विषादी परीक्षण रोक्न भारतीय दूतावासले पत्र पठाएको भन्ने सन्दर्भमा उठाइएको प्रश्नमा मन्त्री खनालले भने,‘त्यो पत्र परराष्ट्र मन्त्रालयमा आएको हो। हामीलाई पनि बोद्यार्थ थियो। यो पत्र भनेको दुई देशबीचको सम्बन्धको कुरा हो, डब्लुटिओ अनुसार पत्र आएको हो। यो सामान्य पत्र हो। तर, यसको जवाफ हामीले भन्दा पनि परराष्ट्रले दिनुपर्छ।’