शुक्रबार बिहान यति एयरलाइन्सको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण ठप्प भएको छ।
बिहान ११ बजेदेखि ठप्प भएको देशको एकमात्र विमानस्थल अपरान्ह साढे ४ बजेसम्म खुलेको छैन।
धावनमार्गको दक्षिणतिरको घाँसे मैदानमा पुगेको जहाज त्यहाँबाट नहटाउँदासम्म उडान र अवतरण हुने छैन।
विमानस्थल कार्यालयका अनुसार सुरक्षा निकाय तथा विमानस्थलकै जनशक्ति जहाज हटाउने काममा लागिपरेको भए पनि अहिलेसम्म सफल हुन सकेका छैनन्। पानी निरन्तर परिरहेकाले उक्त जहाज झन् गाडिदै गएको छ।
जहाज तान्न नसकेपछि विमानस्थल कार्यालयले नोटाम समयलाई बढाउँदै लिएको छ। बेलुका सात बजेसम्मका लागि नोटाम जारी गरिएको विमानस्थल प्रवक्ता प्रताव तिवारीले जानकारी दिए।
बिहानदेखि विमानस्थल बन्द हुँदा अहिलेसम्म सबै आन्तरिक उडान रोकिएका छन्। त्यस्तै एक दर्जन अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन्।
विमानस्थल कार्यालयका अनुसार कतार एयरवेजको जहाज कोलकत्ता, सिचुवान एयरलाइन्सको ल्हासा, चाइना साउदर्नको कोलकत्ता, विमान बंगलादेशको ढाका, थाई एयरवेजको बैंकक, नेपाल एयरलाइन्सको नयाँ दिल्ली, मालिन्दो एयरको ढाका, इन्डिगो एयरलाइन्सका उडान डाइभर्ट भएका छन्।
त्यस्तै थाइ लायनको बैंकक, भुटान एयरलाइन्सको पारो, इन्डिगो एयरवेजको उडान डाइभर्ट भएका छन्।