बाढी-पहिरोका कारण देशभरमा १३ जनाको ज्यान गएको छ। बाढी-पहिरोमा सात जना बेपत्ता छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंमा ३, काभ्रे र भोजपुरमा २/२, ललितपुर, पर्सा, रामेछाप,महोत्तरी, सिन्धुली र धादिङमा १/१ जनाको मृत्यु भएको हो।
काठमाडौं: महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कागेश्वरी मनोहरा वडा नम्बर ६ स्थित टहरो पहिरोले पुरिँदा तीन जना मृत्यु भएको छ।
शुक्रबार दिउँसो माथिबाट खसेको पहिरोले टहरो पुर्दा उनीहरु हराइरहेका थिए। मृत्यु हुनेमा ३० वर्षीया नीतु यादव, ३५ वर्षीया शर्मिला यादव र उनका छोरा १० वर्षीय कुन्दन यादव रहेको परिसर प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
उनीहरु बारा जिल्लाका हुन्। टहरोमा डेरा बसिरहेका थिए। वर्षाका कारण पहिरोले टहरो पुरेपछि हराइरहेका उनीहरुलाई एक्साभेटरको सहायताले खोजिएको थियो।
‘पहिरो हटाउँदा तिनै जनाको शव भेटिएको हो,’ बोगटीले सेतोपाटीसँग भने।
काभ्रे: बनेपा नगरपालिका–३ को एउटा घर भत्किँदा दुई जनाको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ।
५० वर्षीया गोमा दंगाल र उनकी ७ वर्षीया छोरी सोहनी दंगालको मृत्यु भएको प्रहरीले जनायो।
भोजपुर: रामप्रसाद राई गाउँपालिका–७ बासिखोराकामा पुरिएर ६६ वर्षीय जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय जनक विकको मृत्यु भएको छ।
घरैमा बसिरहेको अवस्थामा राईको र विकको शौचालय बसेको बेला पहिरोमा पुरिएर मृत्यु भएको भोजपुर प्रहरीले जनायो।
शुक्रबार बिहान साढे १० बजे ट्वाइलेट गएको अवस्थामा ट्वाइलेटमाथिको काल्ला अचानक झर्दा उनको मृत्यु भएको प्रहरीले जनायो।
उनकै दिदीले देखेर स्थानीय समेतको सहयोगमा उद्धार गरी घरमा ल्याउँदा अपराह्न २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
ललितपुर: ललितपुरको बागमती नगरपालिका-३ मा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बागमती-३ का ११ वर्षीय सरोज तामाङ पहिरोमा पुरिएर मृत्यु भएको हो।
रामेछाप नगरपालिका–५ करमटारमा गोठ भत्किँदा ७२ वर्षीया पदमकुमारी सुनुवार मृत्यु भएको छ।
महोत्तरी बलवा नगरपालिका–२ बदियाका ७० वर्षीय बृद्धको बाढीले बगाएर मृत्यु भएको छ। घाँस काट्न गएका हमिद मियालाई खोला तर्ने क्रममा बाढीले बगाएको थियो।
पर्सागढी नगरपालिका पर्सामा खोलाले १ नम्बर वडाका १० वर्षीय बालक निखिल पटेलको मृत्यु भएको छ।
सिन्धुलीको फिक्कल गाउँपालिका-१ भुल्केमा पहिरोले गोठ बगाउँदा ३५ वर्षीया हरिमाया सुनुवारको मृत्यु भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।
धादिङमा पहिरोले घर लडाउँदा बालिकाको मृत्यु भएको छ। गजुरी गाउँपालिका-४ की ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।
बाढीका कारण काठमाडौंमा एक जना बेपत्ता छन्। खोटाङमा तीन, पाँचथरमा एक, मोरङ, झापा,सुनसरी, महोत्तरीमा १/१ जना बेपत्ता छन्।