प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रौतहटका बाढी पीडितलाई भेटेका छन्।
बुधबार पार्टीका उपसभापति विमलेन्द्र निधिसहित रौतहट पुगेका सभापति देउवाले विपदका बेला सरकार जनताप्रति संवेदनशील नभएको बताए।
सभापति देउवाले लक्ष्मीपुर, दुर्गा भगवती गाउँपालिकाका विभिन्न वडामा रहेका बाढी पीडितलाई भेटेर समस्या बुझेका थिए। डुबान पीडितहरूले राहत नपाएको गुनासो गरेका छन्।
विपदका बेला संसदमा छलफलसमेत गर्न सत्तापक्ष नमानेको देउवाको भनाइ छ।
‘हामीले बाढीपहिरोको अवस्थाबारे संसदमा छलफल गरी सबैसँगै मिलेर जाऔं भनेरै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थियौं,’ उनले भने, ‘सत्ताले सुनेन। संसद नै स्थगित गरिदिए। विपदका बेला सरकार आफ्नै दम्भमा हिँड्यो।’
देउवाले भारतीय पक्षले लगाएको बाँधका कारण गौरबजार डुबानमा परे पनि सरकारले कूटनीतिक पहलसम्म नगरेको भन्दै टिप्पणी गरेका छन्।
दशगजा क्षेत्रमा भारतीय पक्षले वर्षेनी बाँध थप गर्दा गौर बजार डुबानमा परेको थियो।
बाँध खोल्न भारतीय पक्षले नमान्दा संकलन भएको पानीले निकास पाएको थिएन।
उनले बाढीपहिरो र डुबान पीडितका सहयोगमा पार्टी कार्यकर्तालाई जुट्न निर्देशन पनि दिए।
कांग्रेस संसदीय दलले दुवै सदनमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदबाट पाँच दिनको पारिश्रमिक बाढी पीडितलाई दिने घोषणा गरेको देउवाको भनाइ थियो।