सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द (विप्लव) ले हिंसा छाडेर आएमात्रै वार्ता गरिने दोहोर्याएका छन्।
वार्ता गर्न सरकार सधैं तयार रहे पनि कुनै दाउपेच, शक्ति सञ्चयका लागि वार्ता नगरिने बताएका उनले विप्लवले के-के एजेन्डामा वार्ता गर्न चाहेको हो पहिले त्यो स्पष्ट हुनुपर्ने उनले बताए।
‘हामीले कतिचोटी भनिसक्यौं वार्ता गर्न तयार छौं भनेर,’ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बाँस्कोटाले पत्रकारहरूको प्रश्नको जवाफमा भने, ‘कुनै दाउपेच, शक्ति सञ्चय वा प्रचारका लागि वार्ता हुँदैन।’
पक्राउ परेका मान्छे छाडेर वा मुद्दा फिर्ता लिएर वार्ता गर्ने पक्षमा सरकार नरहेको उनको भनाइ छ।
‘पहिले मान्छे छोड्नुपर्ने। मुद्दा फिर्ता गर्नुपर्ने?,’ उनले प्रश्न गरे, ‘०५२ सालदेखि ०६२ सम्म के-के भयो? के त्यसैको पुनरावृत्ति गर्ने?’
उनले वार्ताको नाममा बम पड्काउने खेल हुनसक्ने भएकोले सचेत हुनुपर्ने पनि बताए।
‘वार्ता गर्यो अनि ड्याम्म पड्काइदियो। शक्ति सञ्चयका लागि वार्ता हुँदैन। पक्राउ गरेका मानिस छाडेर फेरि बन्दुक भिर्न वार्ता हुँदैन।’
संविधान मान्ने र हिंसा छाड्ने हो भने एक मिनेटमा वार्ता गरिने उनले बताए।
अनौपचारिक वार्ता चलिराखे पनि औपचारिक रूपमा वार्ता गर्न पहिले हिंसा छाड्नुपर्ने उनको भनाइ छ।
‘प्रचारको लाभ लिन, दुनियाँलाई भुलभुलियामा पार्न। हिंसा गर्ने समूहले सरकारसँग वार्ता गर्ने भनेको हिंसालाई वैद्यता प्रदान गर्नेजस्तो हुन जान्छ कि जाँदैन?,’ उनले प्रश्न गरे, ‘के का लागि किन कसरी ल्याण्डिङ गर्ने हो भन्ने प्रष्ट हुनुपर्यो।’
राष्ट्रले थेग्न सक्ने मागमा मात्रै वार्ता हुने उनले बताए।
‘सिके राउतझैं शान्तिपूर्ण राजनीतिमा आउनुपर्छ। पार्टी दर्ता गरेर प्रतिस्पर्धामा आउनुपर्छ,’ उनले भने, ‘होहल्ला मच्चाएर प्रचारको लाभ लिने चक्रमा हामी फस्दैनौं।’