प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन पूर्ण नभएको प्रतिक्रिया दिएका छन्।
‘प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रतिवेदन अपूर्ण छ। यो प्रतिवेदन प्रदेशको बजेट परिचालनको हो, संघीय सरकारले दिएको बजेटको प्रतिवेदन त्यसमा समावेश छैन’, उनले भने।
बिहीबारमात्रै प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रदेश ५ को बजेट परिचालनको अवस्थाबारे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो।
शुक्रबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीले प्रदेश लेखा नियन्त्रकको प्रतिवेदनमा यस्तो प्रतिक्रिया दिएका हुन्।
‘प्रदेशमा प्रदेश सरकार बाहेक पौने ३ अर्ब रुपैयाँ केन्द्रीय संचित कोषबाट प्राप्त गरेर खर्च गरेको छ। त्यो रकम प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा समावेश छैन’, उनले भने।
‘केन्द्रीय संचित कोषबाट भएको खर्च र प्रदेश संचित कोषबाट भएको खर्च फरक परेको छ त्यसैले अपूर्ण छ’, उनले प्रष्ट पारे।
मुख्यमन्त्रीले प्रदेश ५ सरकार लुम्बिनीलाई पर्यटन, सम्पदा र संस्कृतिसँग जोड्ने अभियानमा लागेको बताए।
पोखरेलले प्रदेश सरकार बुद्धकालीन संग्रहालय निर्माणमा लागेको बताउँदै लुम्बिनीसँग जोडिएका सडकहरूको विस्तार र स्तर उन्नतिमा प्राथमिकताका साथ लागेको बताए। ‘लुम्बिनीमा आएका पर्यटकहरूलाई लुम्बिनी तिलौराकोटलगायत प्रदेशका विभिन्न ठाउँमा घुम्न सक्नेगरी योजना अगाडि बढाइएको छ, यसले प्रदेशको पर्यटन विकास ठूलो सहयोग पुग्ने विश्वास छ,’ उनले भने।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले पानस फाउण्डेसनको सहयोगमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले तयार गरेको पर्यटक सहयोगी पुस्तिका विमोचन गरेका थिए।
उक्त पुस्तिकामा लुम्बिनी र लुम्बिनीसँग जोडिएका क्षेत्रहरूसँगै प्रदेश ५ का पर्यटकीय र धार्मिक महत्वका क्षेत्रहरूको परिचय समावेश गरिएको छ।
पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गरिएको छ। आगामी दिनमा जापानिज र चाइनिज भाषामा समेत प्रकाशन गर्ने सोच रहेको प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिले बताए।