साझा पार्टीले आफ्नो २६ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेको छ। नयाँ सात सदस्य थपेसँगै सो पार्टीको केन्द्रीय समिति सदस्य संख्या ३३ पुगेको छ। आइतबार केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको बैठकले समिति विस्तार गर्ने निर्णय गरेको हो।
थपिएका सदस्यहरुमा कीर्ति तुलाधर, सुमित्रा सिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भिमप्रसाद अधिकारी र विकु लामा छन्।
नेपाल जेसिसकी राष्ट्रिय अध्यक्ष समेत भइसकेकी तुलाधर हाल उदाय मिसा पुचकी अध्यक्ष हुन्। त्यस्तै जनस्वास्थ्यमा विद्यावारिधि गरेकी लामा समाजसेवीका रुपमा चिनिँदै आएकी छन्। उनी गत निर्वाचनमा साझा पार्टीको काठमाडौँ क्षेत्र नं ३ बाट उमेदवार समेत भएकी थिइन्।
कोइराला उच्च माध्यमिक शिक्षा परिषदका पूर्व सदस्य सचिव हुन्। शेरचनले यसअघि नेपाल जेसिसको नेतृत्व सम्हालेका थिए। थापा अतिरिक्त पूर्व प्रहरी महानिरीक्षक हुन् भने अधिकारी झापाका कम्युनिस्ट पृष्ठभूमिका समाजसेवी हुन्। विकु लामा व्यवसायी तथा साहित्यकार हुन्।
साझा पार्टीले देशैभरिबाट उल्लेख्य संख्यामा महिला र युवाहरूलाई सामेल गर्ने लक्ष्य लिएको संयोजक रवीन्द्र मिश्रले बताए। ‘विविध क्षेत्रमा उपलब्धि हासिल गरेका, फरक पृष्ठभूमिका नेपालीहरू साझा पार्टी निर्माणमा संलग्न हुनुले आम नागरिकमा पार्टी प्रतिको आशा र विश्वासलाई पुनः पुष्टी गरेको छ’ उनले भने ‘नयाँ सदस्यहरूको आगमनले पार्टी पंक्तिको मुलुक रूपान्तरणप्रतिको आत्मविश्वासलाई अझै दृढ बनाएको छ।’