पाकिस्तानी प्रधानमन्त्री इमरान खान जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज सरिफविरूद्ध खनिएका छन्।
तीन दिने अमेरिका भ्रमणमा गएका इमरानले आइतबार अमेरिकामा रहेका पाकिस्तानी डायस्पोरालाई सम्बोधन गर्दै नवाजको आलोचना गरेका हुन्।
सन् २०१३ देखि २०१७ सम्म पाकिस्तानका प्रधानमन्त्री बनेका सरिफ अलअजिज स्टिल मिल्स भ्रष्टाचार मुद्दा दोषी देखिएका छन्। सात वर्ष जेल सजाय पाएका उनी अहिले लाहोरको जेलमा छन्।
जेलभित्र सरिफले एयर कन्डिसनसहितको कोठामा बसेर टिभी हेर्दै घरबाट ल्याएको खाना खाइरहेको इमरानको दाबी छ।
‘पाकिस्तानमा आधाभन्दा बढी मानिससँग एयर कन्डिसन र टिभी छैन। त्यस्तो देशमा अपराधीलाई यस्तो व्यवहार हुनै सक्दैन। म उनलाई दिएको त्यो सुविधा हटाउन लगाउँछ,’ इमरानले भने।
उनले यसअघि सरकार चलाएका नेताहरूले विदेश पठाएको सम्पत्ति जफत गर्ने प्रक्रिया पनि आफ्नो सरकारले सुरू गरिसकेको बताए।
सम्बोधनका क्रममा इमरानले आर्थिक संकटसँग जुझिरहेको पाकिस्तानी अर्थतन्त्रलाई उकास्न आफूले गरेका पहल पनि उल्लेख गरेका थिए।
प्रधानमन्त्री बनेपछि पहिलो पटक अमेरिका गएका इमरानले भ्रमणका लागि कमर्सियल फ्लाइट प्रयोग गरेका छन्।
उनी कतार एयरवेजको नियमित उडानबाट कतारको दोहा हुँदै अमेरिका गएका हुन्। दोहामा उनलाई कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अक्बर अल्बाकरले स्वागत गरेका थिए।
आर्थिक संकटसँग जुधिरहेको देशलाई भार कम गर्न भन्दै प्रधानमन्त्री खान चार्टर्ड विमानको साटो कमर्सियल फ्लाइटमा अमेरिका गएका हुन्।
वाससिङटनमा पनि उनी पाँचतारे होटलमा नभई राजदूत निवासमा बसेका छन्।
पाकिस्तानी राजदूतको निवास वासिङ्टनमा अरू कूटनीतिक नियोग र निवासले घेरिएको छ। भारत, टर्की, जापानलगायत झन्डै दर्जन देशका दूतावास उक्त क्षेत्रमा छन्।
अमेरिका जाने राष्ट्र र सरकार प्रमुखले अमेरिकी सांसद, विभिन्न अधिकारीहरू र पत्रकारलाई भेट्छन्।
राजदूत निवास साँघुरो हुने भएकाले ती कार्यक्रमहरू राजदूतावासमा गर्ने तयारी भइरहेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी बोर्डले ओह्रालो लागिरहेको पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन ६ अर्ब अमेरिकी डलर सहयोग केही दिनअघि स्वीकृत गरेको छ। कोषले उक्त सहायताका लागि सरकारले कडा आर्थिक अनुशासन पालन गर्नुपर्ने सर्त राखेको छ।
प्रधानमन्त्री खानले आइतबार कोष र अर्को दातृ निकाय विश्व बैंकका प्रमुखहरूसँग भेटघाट गरेका छन्।
सोमबार खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एक्लाएक्लै वार्ता गर्ने तय भएको छ।
गत वर्ष प्रधानमन्त्री बनेका खानले सुरूदेखि आर्थिक खर्च कम गर्न विभिन्न प्रयायहरू गरिरहेका छन्।
उनी प्रधानमन्त्रीको सरकारी निवासमा बसेका छैनन् भने निवासका गाडी पनि लिलामी गरिदिएका छन्।
खानका तमाम प्रयत्नका बाबजुद् पनि पाकिस्तानी अर्थतन्त्रले गति लिन सकेको छैन।