गृहमन्त्री रामबहादुर थापाले संसदमा दिएको आश्वासनबारे राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले जवाफ माग्ने भएको छ।
गृहमन्त्रीले विभिन्न समयमा राष्ट्रिय सभामा दिलाएका आश्वासनबारे समितिले जवाफ मागेको हो। समितिले जवाफका लागि गृहमन्त्रीलाई निम्तो दिएको समिति सभापति रामनारायण बिडारीले बताए।
‘संसदमा सरकारले दिएका आश्वासन कति पुरा भए, कुनमा कति प्रगति भएका छन् भनेर गृहमन्त्रीलाई डाकेका छौँ', बिडारीले भने।
समितिले गृहमन्त्रीले राष्ट्रिय सभाको दोश्रो अधिवेशनको समयमा गरेका दश वटा आश्वासनको सूची समेत तयार पारेको छ।
जसमा कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यापछि बलात्कार प्रकरणबारे समेत समेटिएको छ। त्यस्तै पूर्व राजदूत केशव झाको काठमाडौंमा भएको हत्याको अनुसन्धानबारे समेत प्रश्न राखिएको छ। दुवै घटना राष्ट्रिय सभामा जोडदारसँग उठेका थिए। जसमा गृहमन्त्री थापा आफैँले जवाफ दिएका थिए।
समितिले छाउपडी प्रथाको सचेतनाको विषयमा सरकारले गरिरहेको काम, छाउपडी विरुद्धको कानुन निर्माणको प्रगतिबारे समेत सोध्ने गरि प्रश्न निर्माण गरेको छ। समितिले बाढी र पहिरोका कारण भएको जनधनको क्षति विवरण र न्यूनीकरण गर्न गृहमन्त्रालयले तयार पारेको योजना समेत मागेको छ। साथै विपद् पछिको राहत र उद्दार प्रभावकारी बनाउने र प्रदेशमा गुल्म व्यवस्था गर्न भएको प्रगतिबारे गृहमन्त्रीसँग जवाफ खोज्ने तयारी समितिको छ।
त्यस्तै मोरङको लेटाङमा खानेपानी ट्याङ्कीमा विष मिसाइएको घटना, प्रतिनिधि सभाकी सांसद निरुदेवी पाल माथि भएको भनिएको आक्रमणको घटना, ओखलढुङ्गाका एक गाउँपालिका अध्यक्ष माथि भएको आक्रमणको घटना, सन्तोष कार्की हत्या घटनाका विषयमा समेत प्रश्न तयार पारेको छ।