सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गजेन्द्रबहादुर महतले ऊर्जा मन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘श्री ३ महाराज’ भएको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा सांसद महतले भने, ‘श्री ३ महाराज कुलमान घिसिङ र वर्षमानसँग भेट गर्न कसरी पाइने हो?’
उनले कर्णालीको जुम्लामा अहिले अँध्यारो रहेको कुरा उठाए। २०३८ सालमा बनेको दुई सय किलोवाटको बत्ती बिग्रिएर थन्किएको र बन्न तीन चार महिना लाग्ने उनले बताए।
यसबारे कुरा गर्न आफूले ऊर्जा मन्त्री पुन र विद्युत प्राधिकरणका निर्देशक घिसिङलाई भेट्न खोज्दा नपाएको गुनासो पोखे।
‘यति धेरै भेट्न कोशिस गर्यौं हाम्रो श्री ३ महाराजलाई। हाम्रो जिल्लाको समस्या कसरी राख्ने हो?,’ उनले प्रश्न गरे,
‘के विद्युत प्राधिकरण छैन यो नेपालमा? के जुम्ला जिल्ला भन्ने नाम छैन?’
सांसद महतले एक लाख जनसंख्या भएको जुम्लामा अहिले मोबाइल चलाउन नपाएर गार्हो भएको बताए।
उनले भारतलाई बत्ती बेच्दैछौं भन्नेहरूलाई जुम्लालाई बत्ती बेचिदिन आग्रह गरे।
‘भारतलाई बत्ती बेच्दैछौं भन्छन्, कृपया जुम्लालाई बेच्नुस्। तपाईंहरूको बत्ती कति छ हामीलाई बेच्नुस्,’ उनले भने।
उनले जुम्लामा पनि बिरामी, विद्यार्थी रहेको भन्दै ‘श्री ३ महाराज’लाई जुम्लाको समस्या हेरिदिन आग्रह गरे।