भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणलाई सरकारले ओझेलमा नपार्ने स्पष्ट पारेकी छन्।
मन्त्री अर्यालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा तीन वटा निकायबाट छानबिन तथा अनुसन्धानको काम भैरहेकोले सरकारले यो प्रकरणलाई ओझेलमा नपार्ने स्पष्ट पारेकी हुन्।
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले उक्त जग्गा प्रकरणबारे आज पनि काम भैरहेको सुनाइन्। अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सिआइबी तीन वटै निकायले आ/आफ्नो ढंगले काम गरिरहेको सुनाइन्।
उनले भनिन्,‘सबैले आ-आफ्नो ढंगले काम गरिरहेका छौं। त्यही भएर अलिक समय लागेको हो। अब धेरै लामो समय जाँदैन।’
साक्षात्कारमा बोल्दै उनले यो प्रकरणमा कारबाहीको लागि केही ढिलाइ भए पनि दोषीहरू नउम्किने दाबी गरिन्।
उनले भनिन्,‘जनताले यो प्रकरणमा जुन अपेक्षा गरेका छन्, त्यहीअनुसारको नतिजा आउँछ।’
मन्त्री अर्यालले नेपालका सीमा स्तम्भको बारेमा जसरी बाहिर हल्ला आएको छ त्यस्तो अवस्था भने अहिले नरहेको स्पष्ट पारिन्। उनले भनिन्,‘यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र नापी विभागमार्फत् अनुगमन भैरहेको छ। जसरी बाहिर सीमा स्तम्भ हराएको हल्ला आएको छ, त्यस्तो अवस्था होइन।’