नेत्रविक्रम चन्द नेतृत्वको समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयले केन्द्रीय सदस्य ४८ वर्षीय श्यामबहादुर बोहरालाई पक्राउ गरेको हो।
जिल्लाको त्रिवेणी गाउँपालिका–२ का ४८ वर्षीय बोहरालाई मङ्गलबार राति १० बजे वडा नं ६ मुरुबाट प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। उनका अनुसार केन्द्रीय सदस्य बोहरासँगै सो समूहका अन्य दुई कार्यकर्ता पनि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विद्यार्थी सङ्गठनका जिल्ला सम्मेलन आयोजक समिति सहसंयोजक त्रिवेणी गाउँपालिका–२ का १९ वर्षीय प्रेमप्रशान्त बोहरा र रुकुमपूर्वका जिल्ला सम्मेलन आयोजक समिति संयोजक आठबीसकोट नगरपालिका–११ का १८ वर्षीय हरि पुन रहेका प्रहरी नायब उपरीक्षक खड्काले बताए।
सो क्रममा मुरुमा सो समूहका नेता तथा कार्यकर्ता जम्मा भएर मङ्गलबार राति शङ्कास्पद गतिविधि सञ्चालन गरिरहेका अवस्थामा फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रमुख खड्काले बताए।