भारतको कस्मिरमा पाँच दिनपछि शुक्रबार टेलिफोन र इन्टरनेट आंशिक रूपमा खोलिएको छ।
मुस्लिमहरूलाई शुक्रबारको प्रार्थनाका लागि भन्दै आइतबारदेखि बन्द गरिएको टेलिफोन र इन्टरनेट खुला गरिएको हो।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच जम्मु कस्मिरका मुस्लिम समुदायले मस्जिद पुगेर शुक्रबारको प्रार्थना गरेका छन्। श्रीनगरको मुख्य मस्जिद भने खुलेको छैन।
आजै बिहान श्रीनगर विमानस्थलबाट कम्युनिष्ट नेता सीताराम यचुरीलाई पक्राउ गरिएको छ। श्रीनगरमा आफ्ना कार्यकर्ता भेट्न जान लागेका यचुरीलाई विमानस्थलमा पक्रेर दिल्ली फिर्ता पठाइएको सञ्चारमाध्यमहरूले जनाएका छन्।
गत सोमबार सरकारले भारत प्रशासित कस्मिरलाई दिइएको प्रदेशको मान्यता हटाएर केन्द्रशासित दुई क्षेत्र बनाउने निर्णय गरेको थियो। साथै जम्मु कस्मिर र लद्दाखलाई दुई केन्द्रशासित बनाउने निर्णय गरेको थियो। साथै कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० पनि खारेज गरेको थियो।
बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले परिवर्तित व्यवस्थाले जम्मु कस्मिरको विकास हुने दाबी गर्दै पछि फेरि प्रदेशको मान्यता दिने बताएका थिए।
छिमेकी पाकिस्तानले भने भारतको उक्त निर्णय एकलौटी र गैरकानुनी भएको बताएको छ।