नेपाली कांग्रेसका नेता गगन थापाले प्रजातन्त्रको स्थायित्वका लागि कांग्रेस बलियो र भरोसा योग्य हुनुपर्ने बताएका छन्।
नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार राजधानीमा गरेको दोस्रो राष्ट्रिय महिला तथा युवा सम्मेलनमा बोल्दै उनले कुनै नेता विशेष र पार्टी कार्यालय बलियो हुँदैमा सैद्धान्तिक रुपमा कांग्रेसलाई बलियो मान्न नसकिने बताए।
उनले संगठन बलियो र नेतृत्व भरोसायोग्य नभएका कारण युवाहरु भविष्य प्रति विश्वस्त हुन नसकेको उल्लेख गर्दै पार्टीको तल्लो तहसम्मका भातृ संगठन सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।
उनले भने ‘नेपालको डेमोक्रेसी स्टेबल हुनका निम्ति कांग्रेस बलियो र भरोसा योग्य हुनुपर्छ। कांग्रेस बलियो र भरोसायोग्य हुने भनेको कांग्रेसका वीङस् बलियो हुनु हो। कांग्रेस भनेको कुनै एउटा पार्टी, सानेपा, शेरवहादुर देउवा, रामचन्द्र पौडेल मात्रै होइन।’
थापाले कांग्रेसका सबै तहका नेतृत्वको आचरण र क्षमताले कांग्रेस बलियो र कमजोर हुने भएकाले नेतृत्वले आचरणमा सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याए।
पार्टी नेतृत्व युवालाई हस्तान्तरण गर्न र मुल कार्यक्रमको अग्रभागमा युवा तथा महिला राख्ने विषयलाई प्राथमिकतामा राख्न उनले सुझाव दिए।
पार्टी नेतृत्वले युवाहरुलाई भविष्यमा मुलुकको शासन र आर्थिक अवस्था कस्तो हुने भन्ने यथार्थ तस्वीर दिन सक्नुपर्ने थापाको भनाइ छ। उनले भने ‘हामी मजदुर किसान पार्टी पनि होइन। भक्तपुरमा मादल बजाएर बस्ने । कांग्रेस हो, देशभरी चुनाव लड्ने हो।’
सम्मेलनले आगामी कार्यकालका लागि टिकाकला शर्माको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय महिला समिति चयन गरेको छ। त्यसैगरी जेम्स जोशीको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय युवा समिति पनि चयन गरेको छ। सम्मेलनमा फियन अन्र्तगतका ७ वटा प्रदेश एवं ४५ वटा आवद्ध संघका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो।