प्रदेश नम्बर -५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातायात व्यवस्था कार्यालयमा दर्ता नहुने र रुट इजाजत नलिई दर्ता भएका विद्युतीय रिक्सालाई कारवाही गरिने बताएका छन्।
सवारी चालक अनुमतीपत्र लिएर र दर्ता गरेर मात्र रिक्सा संचालन गर्नुपर्ने भन्दै मन्त्री चौधरीले सरकारको नीति नियम र निर्देशनलाई पालना नगर्ने सवारी चालक वा व्यवसायीलाई कारवाही गर्ने बताए।
रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्ट प्रालि बुटवलले गरेको विद्युतीय तीनपांग्रे अटो र दुईपांग्रे साईकलको बिक्री शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नियमको पालना नगर्ने व्यवसायीलाई कारवाही गर्ने बताए ।
‘लाईसेन्स नलिई र दर्ता नगरी चलाएको टेम्पो दुर्घटनामा परे त्यसको जिम्मेवारी कसले लिने, क्षतिपूर्ति कसले दिने? खेलांची नसोचौं,’ उनले भने ।
उनले अटो संचालनले उपभोक्तालाई आवागमनमा सहज भएपनि साना गाडीहरुको आयात बढ्दा बजारमा ट्राफिक व्यवस्थापन चुनौतीको रुपमा रहेको बताए । मन्त्री चौधरीले ईन्धनको लागि अरु मुलुकमा निर्भर रहनुपर्ने नेपालमा विद्युतिय सवारी साधन उपयुक्त रहेको भन्दै यसलाई सस्तो र सुलभ मूल्यमा उपभोक्तालाई उपलब्ध गराउने तर्फ व्यवसायीले सोच्नुपर्ने बताए।
यातायात व्यवस्था कार्यालय मणिग्रामका प्रमुख मुक्तिप्रसाद पाण्डेले प्रदेश सरकार, स्थानीय तह तथा व्यवसायीहरुको बैठकले २०७६ बैशाखसम्म सम्बन्धित पालिकाहरुमा संचालन गर्ने अटो र टेम्पोहरुको दर्ता, रुट दिने जिम्मेवारी समेत स्थानीय पालिकालाई दिएपनि अहिलेसम्म कुनैपनि पालिकामा सिफारिस लिन नगएको बताए।
उनले बुटवलमा १ हजार ८ सय र तिलोत्तमा नगरपालिकामा ५ सय अटो रिक्सा आवश्यक रहेको भएपनि त्यसको दोब्बर संख्यामा अटो रिक्सा संचालन हुंदा व्यवस्थापन गर्न समस्या भएको बताए।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले दुर्घटनापछि सवारी चालक अनुमति पत्र नलिएका चालकहरु भाग्ने गर्दा त्यसको मारमा यात्रुहरु पर्ने बताए।
कम्पनीका जिएम राजा गाएमले नेपालमा पट्रोलियम सवारी साधन हटाउने योजना अनुसार यो उपर्युक्त साधन भएको दाबी गरे। टेम्पोको अधिकतम बिक्री मुल्य ६ लाख रुपैया रहेको छ।
रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्टले ईलाका प्रहरी कार्यालय बुटवललाई ५ वटा ईलेक्ट्रिक साईकल हस्तान्तरण गरेको छ। पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी, जिएमडब्लुको एमडी राजा गएम, रोहिणीका संरक्षक रिखिराम बश्यालले ईप्रका बुटवलका प्रमुख भीमलाल भट्टराईलाई साइकल हस्तान्तरण गरे।