उपकुलपति तीर्थ खनियाँको चार वर्षे कार्यकाल सकिनै लाग्दा त्रिभुवन विश्वविद्यालय परिसरमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गर्दै कालो ब्यानर राखिएको छ।
खनियाँको कार्यकाल भदौ ५ गतेदेखि सकिँदैछ।
हालै त्रिवि सेवा आयोगको अध्यक्ष र सदस्य नियुक्तिमा पनि राजनीतिक हस्तक्षेप भएको भन्दै अब हुने नियुक्ति विश्वविद्यालय स्वायत्त आयोग गठन गरी पदाधिकारी चयन गर्न माग गर्दै ब्यानर राखिएको हो।
त्रिवि सेवा आयोगको अध्यक्षमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकटका लालुप्रसाद पौडेल र सदस्यमा हेमराज ढकाललाई नियुक्त गरेका थिए।
त्रिविको परिसरभित्र राखिएको ब्यानरमा ‘विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न दबाब सिर्जना गरौं। विश्वविद्यालयको स्वायत्त आयोग गठन गरी पदाधिकारीय चयन गरौं। दलीय भागबन्डाबाट नियुक्ति लिएर विश्वविद्यालय आउने पदाधिकारीलाई बहिष्कार गरौं,’ लेखेर विश्वविद्यालयका विद्यार्थीले कालो ब्यानर राखेका हुन्।