प्रदेश नं ५ को लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन्।
अध्यक्ष भट्टराईलाई प्रदेश प्रमुख उमाकान्त झाको कार्यालयमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलले मंगलबार सपथ ग्रहण गराएका हुन्।
भट्टराईलाई गत साउन २३ गते प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।
लोक सेवा आयोगका तीन सदस्य पदाधिकारीमध्ये अध्यक्षलाई मुख्यमन्त्री नेतृत्वको समितिले सिफारिस गर्ने व्यवस्था छ।
मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता रहेको समितिको सिफारिसमा प्रदेश प्रमुख झाले भट्टराईलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १० का स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख थिए।
सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख झा, मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीसहित प्रदेशका सबै मन्त्री, प्रदेशका प्रमुख सचिव, योजना आयोगका पदाधिकारीहरू, प्रदेश मन्त्रालयका सचिवसहित उच्च अधिकारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
लोक सेवा गठनसँगै प्रदेश ५ मा कर्मचारी नियुक्तिको बाटो खुलेको छ। प्रदेशमा करिब १ हजार ५ सय दरबन्दी खाली रहेको छ। आवश्यक पदहरूमा केही महिनाभित्रै लोक सेवाले विज्ञापन खुलाउने जनाएको छ।
यस्तै, लोकसेवा आयोगको मुख्य कार्यालय बुटवलमै राख्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।
आयोगको कार्यालय मन्त्रिपरिषद् बैठकले तोक्ने व्यवस्था अनुरूप मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाटबजारस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकै छेउमा रहेको भवनमा लोक सेवा आयोगको कार्यालय तोकेको हो।