शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले शिक्षा र विज्ञान प्रविधि सचिवसँग ‘कार्यसम्पादन सम्झौता’ गरेका छन्।
मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री पोखरेलले शिक्षा सचिव खगराज बराल र बिज्ञान प्रविधि सचिव कृष्णराज बिसीसँग कार्यसम्पादन सम्झौता गरे। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पाखरेल लगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन्।
कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्यपालनामा सघाउन पुर्याउने मन्त्री पोखरेलले बताए। उनले समयसीमा भित्रै सरकारले राखेको लक्ष्य हासिल हुने र परिणाम देखिने गरी काम गर्न निर्देशन दिए।
‘कार्यसम्पादन सम्झौता’ पछि सचिवद्धय बराल र बिसिले सरकारले लिएको लक्ष्य हासिल गर्न र मन्त्रालयको गरिमालाई बढाउन उच्च मनोबलसहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाए।
सचिव द्वयले पनि आफ्ना मातहतका निकाय, विभाग, महाशाखा र शाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने भएका छन्।