पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरू लुकाएको आरोप लगाएका छन्।
संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री नेपालले सरकारका कर्मचारीबाट नै पुराना दस्तावेजहरू लुकाउने काम भएको दाबी गरे।
उनले कर्मचारीको नियत र मुलुकप्रतिको उत्तरदायित्वमाथि नै शंका व्यक्त गरे।
राष्ट्रसेवक कर्मचारीहरूले अन्य देशको हितमा हुने गरी काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको भन्दै शंकास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराए।
पूर्वप्रधानमन्त्री नेपालले कैलाली घटनाबारे सर्वत्र चर्चा भइरहँदा पनि सरकार र सम्बन्धित निकायले सम्बोधन नहुँदा जिम्मेवार व्यक्ति र संस्थाको देशभक्ति नै शंका उत्पन्न भएको टिप्पणी गरे।
सीमा विवाद, विगतमा भएका असमान सन्धि सम्झौता, तटबन्ध, डुवान लगायतका समस्याको समाधान खोज्दा नेपालको हितमा कुठाराघात नहुने गरी खोजिनुपर्ने बताए।
उनले तराई क्षेत्रमा वर्षेनी हुने डुवान समस्याको सम्बोधन गर्दा नेपाल भारतको बराबर भन्दा पनि भारतले ठूलो आर्थिक दायित्व बहन गर्नुपर्ने तर्क गरे।