नेपाली कांग्रेसले तनहुँमा समानान्तर पार्टी र कार्यालय सञ्चालन भएको पाइए कारबाही हुने चेतावनी दिएको छ।
पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले माघ ८ गते समानान्तर समिति गठन गरेका थिए। जोशीलाई पुस २४ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।
वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनाव हराउन भूमिका खेलेको भन्दै जोशीमाथि कारबाही भएको हो। जोशीले तनहुँमा आफू नै आधिकारिक कांग्रेस भएको भन्दै विशेष अधिवेशन बोलाएर डिल्लीराम अधिकारीको सभापतित्वमा पार्टीको कार्यसमिति गठन गरेका थिए।
तर कांग्रेसले तनहुँमा सभापति बैकुण्ठनाथ न्यौपाने र कार्यवाहक सभापति जीतप्रकाश आले रहेको समिति नै आधिकारिक भएको बताएको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले आधिकारिक र वैधानिक कार्यसमितिबाहेक अन्यत्र नलाग्न कार्यकर्तालाई निर्देशन पनि दिएको छ।
‘कांग्रेसका नाममा कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने भएकोले तनहुँमा अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लंघन र दण्डनीय कार्य हो,’ कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ।
साथै कांग्रेसले तनहुँका सरकारी र गैरसरकारी कार्यालयलाई पनि आधिकारिक जिल्ला कार्यसमिति र मातहत निकायसँग मात्र दलगत सम्बन्ध कायम राख्न र गतिविधि गर्न जानकारी गराएको छ। पार्टी अनुशासनको गम्भीर उल्लंघन भए विधान र नियमावलीअनुसार कारबाही गरिने कांग्रेसले चेतावनी दिएको छ।
गत प्रतिनिधि सभा चुनावमा नेता जोशी तनहुँ-१ बाट उम्मेदवार बनेका थिए। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको क्षेत्रमा चुनाव उठेका जोशीविरूद्ध पौडेलले मुद्दा हाले। भ्रष्टाचारमा मुछिएका भएकाले जोशीको उम्मेदवारी निर्वाचन कार्यालयले खारेज गरिदियो।
उम्मेदवारी खारेजपछि जोशी पौडेललाई हराउन लागे। मत परिणाम कांग्रेस उम्मेदवार पौडेल एमाले-माओवादी केन्द्र गठबन्धन कृष्णकुमार श्रेष्ठ ‘किसान’सँग पराजित भए।