चिकित्सा शिक्षा आयोग उपाध्यक्ष छनोट समितिले बुधबार तीन जनाको नाम सिफारिस गरेको छ।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली अध्यक्ष रहेको सिफारिस समितिले डा. सुरेन्द्र शेरचन, शम्भु पहारी र श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको हो।
सिफारिस गरिएकामध्ये एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गरेपछि पहिलो पटक ‘राष्ट्रिय चिकित्सा शिक्षा आयोग’को उपाध्यक्ष नियुक्ति हुनेछन्। आगामी मन्त्रिपरिषद् बैठकमा शिक्षा मन्त्रालयले तीनै जनाको नाम लैजाने तयारी गरेको छ।
राजेन्द्रप्रसाद साह, रमेशचन्द्र सिंह, यहुनचन्द्र शिवाकोटी, तरुण पौडेल, निलमणि उपाध्याय र पारसकुमार पोखरेलले आवेदन दिएका थिए। अन्य दुई जनाको आवेदन रद्द भएको थियो।
सिफारिसमा परेका शेरचन मानसिक अस्पताल पाटनका पूर्वनिर्देशक हुन्।
उनले रसियाबाट एमबिबिएस/एमडी अध्ययन गरेका थिए। पाटनमा उनकै पालामा मानसिक रोग विषयमा अध्यापन सुरू भएको थियो।
उनी नेकपानिकट मानिन्छन्। उनी विराटनगरका हुन्। आयोग बनेपछि ७५ प्रतिशत विद्यार्थीलाई नि:शुल्क पढाउनुपर्ने प्रावधानलाई छल्न मेडिकल कलेजहरू सक्रिय छन्। त्यसलाई छल्न केही मेडिकल कलेज सञ्चालकको प्रभावमा उनलाई छानिएको स्रोत बताउँछ।
दोस्रो नम्बरमा सिफारिस भएका पहारीले लामो समय वीर अस्पतालमा काम गरेका छन्। अवकाश भएपछि उनी लुम्बिनी र युनिभर्सल मेडिकल कलेजमा पढाउँथे। उनी पदका लागि जुनसुकै पार्टीसँग पनि ‘लबिङ’ गर्नसक्ने क्षमता राख्छन्। उनी प्रधानमन्त्री केपी ओलीका विश्वासिला मानिन्छन्।
सत्तारूढ दलका नेताहरू अझै पनि न्याम्समा गाभिएको मनमोहन कलेजलाई ब्यूँताएर सम्बन्धनका लागि लागिपरेका छन्। त्यसमा सहजीकरण हुने विश्वाससाथ उनको नाम सिफारिस गरिएको बताइन्छ।
गिरी हाडजोर्नी विशेषज्ञ हुन्। उनी अहिले वीरको ट्रमा सेन्टरमा काम गरिरहेका छन्। उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्वरेक्टर हुन्।
उनी शिक्षा मन्त्री गिरिराजमणि पोखरेलनिकट मानिन्छन्। पोखरेल जनमोर्चामा रहँदैदेखि गिरी निकट रहेको स्रोत बताउँछ। काठमाडौं विश्वविद्यालयका पदाधिकारीसँग निकट मानिने उनलाई आयोग उपाध्यक्ष बनाउन मन्त्री पोखरेलको जोड रहेको स्रोत बताउँछ।
सिफारिसमा परेका कोहीसँग पनि मेडिकल कलेजको नियामक निकाय नेपाल मेडिकल काउन्सिलमा काम गरेको वा विश्वविद्यालयमा अध्यापन गराएको अनुभव भने छैन।
यो पनि:
चिकित्सा शिक्षा आयोग उपाध्यक्षमा तीन जनाको नाम सिफारिस